२०८३ बैशाख १९ गते , शनिबार

स्वास्थ्य चौकी शान्तिनगरमा गुणस्तरीय सेवा नभएको भन्दै स्थानीय आन्दोलित

sajilo news
झापा
२०८० असार २१ गते , विहीबार
स्वास्थ्य चौकी शान्तिनगरमा गुणस्तरीय सेवा नभएको भन्दै स्थानीय आन्दोलित

(आयुश निरौला) बुद्धशान्ति । कुनै समय जिल्लाकै नमुना स्वास्थ्य चौकीको परिचय बोकेको शान्तिनगर स्वास्थ्य चौकी यतिबेला सामान्य सुविधा समेत उपलब्ध नहुँदा सुनसान बन्न थालेको छ।

पालिकाले बेवास्ता गर्दा उक्त स्वास्थ्य चौकीमा सेवाग्राहीले सामान्य सेवा समेत लिन नपाएको भन्दै स्थानीयले खबरदारी सुरु गरेका छन् । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ स्थित शान्तिनगर स्वास्थ्य चौकीमा गुणस्तरीय सेवा नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

विगत एक वर्षयता शान्तिनगर स्वास्थ्य चौकीमा दरबन्दी अनुरूप स्वास्थ्यकर्मी नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् । राजनीतिक दल, सङ्घ संस्थाका प्रतिनिधि, र स्थानीयले तत्काल दरबन्दी अनुरूपका कर्मचारी खटाउन र एम्बुलेन्स सेवा सुचारु गर्न दबाब दिन सङ्घर्ष समिति समेत गठन गरेका छन् ।

स्थानीय विकल भट्टराईको संयोजकत्वमा बनेको सङ्घर्ष समितिले स्वास्थ्य चौकीको समस्या बारे खबरदारी गर्ने जनाएको छ। समितिले स्वास्थ्य चौकीमा सञ्चालन भएको एम्बुलेन्स सेवा बन्द भएकोमा समेत चिन्ता व्यक्त गरेको छ।

समितिले बुधवार बुद्धशान्ति गाउँपालिका अध्यक्षलाई तत्काल समस्याको समाधान गर्न ज्ञापन पत्र समेत बुझाएको छ। ५ दिनभित्र समस्या समाधान नभए आन्दोलनका कार्यक्रम अगाडि सार्ने चेतावनी साथ समितिले ज्ञापन पत्र बुझाएको हो।

शान्तिनगर स्वास्थ्य चौकीमा १०जना कर्मचारीको दरबन्दी भए पनि अहिले ५ जना स्वास्थ्यकर्मीले काम चलाइरहेका छन् । छैटौँ तहको १ जना र पाचौं तहको २ जना कर्मचारी हुनुपर्नेमा अहिले ती पद रिक्त छन् भने बर्थिङ सेन्टरमा समेत कर्मचारीको अभाव छ।

त्यस्तै एम्बुलेन्स पुरानो भएको भन्दै सो क्षेत्रको एक मात्र एम्बुलेन्स सेवा समेत ठप्प छ। नयाँ एम्बुलेन्स खरिद गर्ने रकम हुँदा पनि गाउँपालिका उदासीन बनेको स्थानीयको आरोप छ।शान्तिनगर स्वास्थ्य चौकीमा गतिलो स्वास्थ्य सेवा नहुँदा स्थानीय मारमा परेको र आन्दोलन गर्नुपर्ने बाध्यता बनेको सङ्घर्ष समितिका संयोजक विकल भट्टराईले बताए ।

सम्बन्धित समाचार