२०८३ बैशाख २४ गते , विहीबार

पश्चिम बङ्गालमा पञ्चायत चुनाव : हिंसात्मक घटनामा परी कम्तीमा १५ जनाको मृत्यु, दर्जनौँ घाइते

sajilo news
झापा
२०८० असार २४ गते , आईतबार
पश्चिम बङ्गालमा पञ्चायत चुनाव : हिंसात्मक घटनामा परी कम्तीमा १५ जनाको मृत्यु, दर्जनौँ घाइते

भारतको पश्चिम बङ्गालमा शनिवार भएको पञ्चायतको चुनावमा हिंसात्मक झडप हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।  राज्यमा व्यापक सुरक्षाकर्मी परिचालन हुँदाहुँदै पनि पञ्चायत निर्वाचनका क्रममा विभिन्न स्थानमा भएको हिंसात्मक झडपमा कम्तीमा १५ जनाको ज्यान गएको समाचार प्राप्त भएको छ । घटनामा परी टीएमसी, बिजेपी र काँग्रेस कार्यकर्ताहरूको मृत्यु भएको छ । घटनामा दर्जनौँ कार्यकर्ता घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

कतिपय जिल्लामा मतदानको क्रममा गोलाबारी, आगजनी, बम विस्फोट, तोडफोड, बुथ कब्जा लगायतका घटना बाहिर आएको छ । किशनगञ्ज जिल्लाको ग्लावपोखरमा टीएमसी कार्यकर्ताको हत्या भएको छ ।  यसैबीच, कुचबिहारमा मतदान केन्द्रमा तोडफोड र मतपत्र जलाउने घटना पनि बाहिर आएको छ। राज्य निर्वाचन आयोगका अनुसार २२ जिल्लाका ६३ हजार २ सय २९ ग्राम पञ्चायत सिट, ९ हजार ७३० पञ्चायत समिति र ९ सय २८ जिल्ला परिषद् सिटमा उम्मेदवार दिएका छन् । 

पश्चिम बङ्गालमा पञ्चायत चुनाव अघि पछिल्ला केही दिनहरूमा मुर्शिदाबाद, उत्तर २४ परगना, दक्षिण २४ परगना, उत्तर दिनाजपुर, मालदा र कुचबिहार जस्ता जिल्लाहरूमा हिंसाका धेरै घटनाहरू भएका छन् । यसरी, राज्यमा तीन तहको पञ्चायत चुनावको लागि मतदान अत्यन्तै चुनौतीपूर्ण बनेको थियो ।  यी चुनावका लागि केन्द्रीय अर्धसैनिक बलहरू तैनाथ गरिएको थियो र नतिजा घोषणा पछि दस दिनसम्म बस्न आदेश दिइएको छ, ताकि चुनावी गतिविधिमा कुनै बाधा अवरोध नआओस् । 

सम्बन्धित समाचार