मृग ठानेर बन्दुक हान्दा आफ्नै साथीको ज्यान गयो
भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उहाँको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
“घटना २२ गते रातिको भन्ने बुझिएको छ”, प्रहरी प्रमुख थापाले भन्नुभयो, “साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ । थप अनुसन्धान जारी छ ।”
मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प