परिवार नियोजन संघ झापाको चुनाव भोलि, भट्टराई र पोखरेलबीच कडा प्रतिस्पर्धा
भद्रपुर। नेपाल परिवार नियोजन संघ झापाको सभापति पदका लागि लोकनाथ भट्टराई बुइँपाली र गणेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । भट्टराई वर्तमान कार्यसमितिका अध्यक्ष र पोखरेल सचिव हुन् । दुवैले भोलि शनिवार हुने निर्वाचन जित्ने दाबी गरेका छन् । संघको झापा शाखामा ७७५ जना आजीवन र साधारण सदस्य रहेका छन् ।
उनीहरूले नै निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नेछन् । केही वर्ष अघिसम्म परिवार नियोजन संघ झापामा प्रजातान्त्रिक शक्तिको वर्चस्व रहेको थियो । तर, अघिल्लो कार्यकाल प्रगतिशील पक्षका लोकनाथ भट्टराई बुइँपालीले निर्वाचन जितेपछि प्रजातान्त्रिकका पक्षको वर्चस्व तोडिएको थियो ।
यस पटकका भट्टराई र पोखरेल दुवै उम्मेदवार प्रगतिशील विचारका हुन् । वैचारिक मतसँगै ती दुवैलाई प्रजातान्त्रिक पक्षका मतदाताको समेत समर्थन रहेकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको हो ।
७७५ मतदातामध्ये सबैभन्दा बढी भद्रपुरमा ३३३ मतदाता छन् । त्यस्तै बिर्तामोडमा १०८ , अर्जुनधारामा ७९ , बुद्धशान्तिमा ३९,मेचीनगरमा ४७ ,कनकाईमा ४३ , दमकमा २० , कचनकवलमा ७ , बाह्रदशीमा ९ , झापा गाउँपालिकामा ४ जना मतदाता रहेका छन् । निर्वाचनमा भद्रपुरका मतदाताको मत निर्णायक हुने देखिएको छ ।