पूर्वाञ्चल क्यान्सर अस्पताल र राजीव गान्धी क्यान्सर इन्स्टिच्युटबीच सेवा र प्रविधि साटासाट गर्ने सम्झौता
झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर बिच दुई पक्षीय सम्झौता भएको छ । शनिवार बिर्तामोडमा भएको एक समारोहमा सो सम्झौतामा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा सुधीर कुमार रावलले हस्ताक्षर गरेका हुन् ।
दुई क्यान्सर अस्पतालले क्यान्सर उपचार प्रविधिका ज्ञान सिप साटासाट गर्ने, राजीव गान्धी अस्पतालमा उपचारमा गएका नेपाली बिरामीको फलोअपको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा पठाउने, दुई अस्पताल बिच टेली मेडिसिन प्रविधिबाट बिरामीको उपचारमा सहयोग गर्ने, पूर्वाञ्चल अस्पतालका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरूलाई समय समयमा तालिम गराउने, पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब्ध हुन नसक्ने सेवाको लागि राजीव गान्धी रिफर गरिएका बिरामीलाई सिधै सम्बन्धित चिकित्सकबाट उपचार हुने व्यवस्था मिलाउने । पूर्वाञ्चल क्यान्सर अस्पतालबाट रिफर भएर गएका बिरामीहरूको सम्पूर्ण खर्चको १० प्रतिशत छुट दिने सम्झौतामा उल्लेख रहेका छन् ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै राजीव गान्धी अस्पतालका निर्देशक डा रावलले पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालमा मात्र नभएर भारतको पश्चिम बङ्गाल, गुहाटी, सिक्किम राज्यमा नै यती प्रविधिले सम्पन्न अस्पताल नभएको बताए । उनले नेपालमा क्यान्सर उपचारको टिम प्रविधि सहितको यति आधुनिक एकीकृत अस्पताल रहेको भन्ने कुरा आफै आएर हेरेपछि मात्र थाहा पाएको बताए ।
डा रावलले राजीव गान्धीमा क्यान्सरको उपचारको लागि आउने बिरामीमध्ये १५ प्रतिशत नेपाली बिरामी हुने गरेको समेत जानकारी दिए । पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले अस्पताल स्थापना भएको अढाई वर्षमा नै राजीव गान्धी जस्तो संस्थासँग सहकार्य गर्न पाउनु पूर्वाञ्चल क्यान्सर अस्पतालले दिएको सेवाको विश्वसनीयता भएको बताए । राजीव गान्धीसँगको सम्बन्धले पूर्वाञ्चलका कार्यरत चिकित्सक नर्स लगायत स्वास्थ्यकर्मीले थप अध्ययनको लागि बाटो खुलेको, पूर्वाञ्चलमा बिरामीले थप सेवा पाउने र राजीव गान्धीमा उपचारका लागि गएका बिरामीको फलोअपको लागि जाँदा लाग्ने खर्च कम हुँदा जनतालाई नै फाइदा हुने बताए ।
डा यादवले पूर्वाञ्चलमा हुन नसक्ने वोनम्यारो ट्रन्सप्लान्ट लगायत केही सेवाको लागि राजीव गान्धीमा यहीको निदानका आधारमा सिधै बिरामीले सेवा पाउने जानकारी दिए। बीएण्डसी सी मेडिकल कलेजका प्रिन्सिपल तथा रेडियोलोजी विभाग प्रमुख प्राडा उमेश शर्माले २५ वर्षे युवा राजीव गान्धी र अढाई वर्षे वालक पूर्वाञ्चल बिच भएको ऐतिहासिक सम्झौताले नेपालको क्यान्सर उपचारको क्षेत्रमा फड्को मार्ने विश्वास रहेको जानकारी दिए ।