भारतीय राजदूतावासले दियो हल्दिबारी गाउँपालिकालाई एम्बुलेन्स
काठमाडौँस्थित भारतीय राजदूतावासले झापाको हल्दिबारी गाउँपालिकालाई एउटा एम्बुलेन्स प्रदान गरेको छ । देशका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरूप प्रदान गरेको भारतीय दूतावासले हल्दिबारीलाई समेत प्राथमिकतामा राखेर एम्बुलेन्स प्रदान गरेको हो ।
दूतावासमा आइतबार आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्री वास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेका थिए । हल्दिबारी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली एम्बुलेन्स लिन दुई दिन अघि नै काठमाडौँ गएकी थिइन् ।
उपाध्यक्षहरूको न्यायिक सम्मेलनमा गएको बेला एम्बुलेन्सको लागि गाउँपालिकाको तर्फबाट उपाध्यक्ष मैनालीले दूतावासमा निवेदन दिएकी थिइन् । नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स बिग्रिएको र २ वटा एम्बुलेन्स व्यक्ति गत रूपमा चलाई रहेको अवस्थामा हल्दिबारीमा गाउँपालिकाकै एम्बुलेन्स सेवा सञ्चालन हुने भएपछि हल्दिवारीबासीलाई सहज हुने छ ।