प्रादेशिक अस्पताल भद्रपुर वरिपरि सुर्तीजन्य पदार्थ तथा मदिरा निषेध
भद्रपुर । भद्रपुर– ८ स्थित प्रादेशिक अस्पताल आसपास आगामी भदौ १ गते सुर्तीजन्य पदार्थ तथा मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइने भएको छ । भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयले आफ्नो वडामा पर्ने प्रादेशिक अस्पताल लक्षित गरी पहिलो चरण अस्पताल आसपासको १०० मिटर वरिपरि (सार्वजनिक स्थल) मा सुर्तीजन्य पदार्थ तथा मदिरा बेचबिखन प्रतिबन्ध लगाउन लागेको हो । वडा कार्यालयले सो अभियान सफल बनाउन मङ्गलवारदेखि सन्देश तथा जनचेतना मूलक अभियान सुरु गरेको छ ।
वडा कार्यालयले नेपाल रेडक्रस सोसाइटी झापा शाखाको भवनमा सुर्तीजन्य तथा मादक पदार्थ निषेधित क्षेत्र घोषणा तयारी बैठक सम्पन्न गरेपश्चात् अस्पताल वरिपरिको सडकमा होडिङ बोर्ड लगाउनुका साथै स्टिकर टाँस गरिसकेको छ । कोशी प्रदेश सांसद मोहन महर्जनको प्रमुख आतिथ्यमा भएको तयारी बैठकमा नगर प्रमुख गणेश पोखरेलले नगर क्षेत्रमा वडा नम्बर ८ बाट यो अभियान सुरु भएको जानकारी गराए ।
अब नगरपालिकाले नीति बनाएर नगरभरिका सार्वजनिक स्थलमा सुर्तीजन्य तथा मादक पदार्थ निषेधित अभियान छिट्टै सञ्चालन गर्ने उनले बताए । सुर्तीजन्य तथा मादक पदार्थ अभियान सफल बनाउन नगरको पाठ्यक्रममा पनि यसलाई समावेश गरिने उनको भनाई छ । त्यस्तै नगर उपप्रमुख राधा कार्कीले कानुन बने पनि सार्वजनिक स्थलमा सुर्तीजन्य तथा मादक पदार्थ अझै पनि बिक्री वितरण भइरहेकोले यसको नियन्त्रण तथा रोकथामका लागि नगरपालिका लागि पर्ने बताइन् ।
त्यस्तै वडा अध्यक्ष गौरव सुब्बाले पहिलो चरणमा अस्पताल लक्षित गरी यो अभियानको सुरुवात गरेको बताए । ‘म लिम्बुको छोरा हुँ, म लागे भने लागे, यो अभियान सफल बनाएर छाड्छु,’ उनले भने, ‘सुर्तीजन्य तथा मादक पदार्थ निषेधित क्षेत्रमा बिक्री तथा सेवन गर्ने दुवै पक्षलाई कानुन बमोजिम कारबाही गरिन्छ ।’ ‘यो अभियान सफल बनाउन सबैको साथ र सहयोग चाहिन्छ,’ उनले भने ।
बैठकमा अधिवक्ता कुलप्रसाद दाहालले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथाम ऐन २०६८ को बारेमा जानकारी गराउँदै १८ वर्ष नपुगेकाले सुर्तीजन्य तथा मदिरा पदार्थ बिक्री तथा सेवन गर्नु हुँदैन । १८ वर्ष मुनिका बालबालिकाले सुर्तीजन्य तथा मदिरा पदार्थ बिक्री तथा सेवन गरेमा दुवैलाई कानुन बमोजिम कारबाही हुने ऐनमा उल्लेख भएको अधिवक्ता दाहालले बताए ।