बालरोग विशेषज्ञ नभएको प्रादेशिक अस्पताल भद्रपुरमा इन्डोस्कोपी सेवा पनि बन्द
झापा । बाल रोग विशेषज्ञ चिकित्सक र रेबिजविरुद्धको भ्याक्सिन नभएको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मङ्गलवारदेखि इन्डोस्कोपी सेवा पनि बन्द भएको छ ।
अस्पताल प्रशासनले मङ्गलवार सूचना जारी गर्दै इन्डोस्कोपी सेवा बन्द भएको जानकारी गराएको हो । इन्डोस्कोपी मेशिन बिग्रिएकोले मर्मत गर्न केही समय लाग्ने भएकोले मर्मत नभएसम्म सेवा बन्द रहने सूचनामा उल्लेख छ । सरकारी अस्पतालमै इन्डोस्कोपी सेवा बन्द भएपछि बिरामीहरू थप समस्या परेका छन् । बिरामीको शरीरभित्र कुनै समस्या वा संक्रमण हुन्छ तब विभिन्न लक्षण देखिने गर्छ जुन सतहमा हेर्दा डाक्टरले बुझ्न सक्दैनन् । त्यसपछि इन्डोस्कोपीको आवश्यक पर्छ ।
नाकको समस्या वा साइनस, गलाको समस्या, यदि कसैलाई खानेकुरा निल्न समस्या भए, बान्ता गर्दा रगत देखिएमा, आन्द्रा सुन्निए वा पीडा हुँदा, कब्जियतबाट ग्रसित हुँदा, पित्तथैलीमा पत्थरी हुँदा, पेटको अल्सर हुँदा ,गर्भाशयको जाँच, पिसाब र दिसाबाट रगत आउँदा, गर्भावस्थामा भ्रूण जाँच, गम्भीर शल्यक्रिया अघि र कानको रोगका लागि इन्डोस्कोपी गरिन्छ ।
