२०८३ बैशाख ३ गते , विहीबार

मोबाइलको खराब लतमा बालबालिका : कार्टुन नहेरी खाना नै खाँदैनन्

sajilo news
झापा
२०८० श्रावण ३ गते , बुधबार
मोबाइलको खराब लतमा बालबालिका : कार्टुन नहेरी खाना नै खाँदैनन्

झापा । ‘यो कार्टुनमा के राखेको हुन्छ ? बालबालिका आँखा समेत झिम्क्याउँदैनन् ,’ प्रायः सबै अभिभावकहरूको यो चिन्ता हो ।कार्टुन नदेखाई बालबालिकाहरूलाई खाना खुवाउन नसकिने समस्याबाट उनीहरू हैरान छन् । बिर्ताबजारका दिव्यांस भर्खर ४ वर्ष टेक्दैछन् । उनलाई खाना खुवाउने बेलामा उनकी आमा दिक्क मान्छिन् ।कार्टुन नदेखाई खाना नखाने भएपछि आफ्नो मोबाइल फोन छोरालाई नै जिम्मा दिन्छिन् ।
दिव्यांसकी आमा मात्र होइन, धेरै अभिभावक चिन्तामा छन्। ‘सुरुमा छोराले मोबाइलको स्क्रिन छुँदा पनि छोयो–छोयो भनेर खुसी भइयो, अहिले छोरोले स्क्रिन छोला कि भनेर डराउनु परेको छ ।’बिर्ताबारकै अर्का अभिभावकले समस्या सुनाए ।

गेमको त कुरै छोडौँ, मोबाइल मात्रै चलाउनु पनि एक प्रसारको नशा हो। यो नशा बालबालिकामा मात्रै होइन, अभिभावकमा समेत बसिसकेको छ।
बिर्तामोड– ३ का आकाश उप्रेतीका अनुसार बच्चाले मोबाइल चलाउनुमा अभिभावककै बढी हात हुन्छ। उनले भने, ‘सुरुमा छोराले मोबाइल चलाउँदा वैज्ञानिक बन्न लागेको जसरी हामी नै हौसला दिन्छौँ, पछि उसैले हामीलाई पनि मोबाइल चलाउन सिकाउने हुन्छ। त्यो समयमा हामी छोराछोरीले के–के न जाने जसरी गर्वले छाती चौडा बनाउँछौँ, त्यसैको फाइदा उनीहरू उठाउँछन्।’

सुरुमा मोबाइल चलाउँदा मस्तिष्कले केमिकल रिलिज गर्छ र त्यसले उनीहरूलाई खुसी बनाउने खालको हर्मोन बनाइदिन्छ। जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउँदा बालबालिका खुसी हुन्छन् लगातार चलाएपछि ब्रेन सुस्त हुँदै जान्छ।
चिकित्सकका अनुसार लगातार मोबाइल हेरिरहँदा आँखाको मसल थाक्ने, आँसु आउने, राम्रोसँग हेर्न नसक्ने, चिलाउने जस्ता समस्या हुन जान्छ। लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिएसनले आँखालाई अन्धो समेत बनाउन सक्छ।

एकै ठाउँमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपनको शिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि बढ्न सक्ने बाल चिकित्सकहरू बताउँछन्।
धेरै मोबाइल हेर्ने बानी भएका बालबालिकामा डिप्रेसनसम्म हुनसक्ने सम्भावना हुने उनीहरूको दाबी छ। अलि ठुला बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसँग कुरा नगर्ने जस्ता समस्या देखिन सक्छ।

सम्बन्धित समाचार