२०८३ बैशाख १९ गते , शनिबार

भद्रपुरमा 'मेयर स्वास्थ्य सहायता कार्यक्रम' लाई निरन्तरता, बिरामीलाई निःशुल्क रगत

sajilo news
पार्थ मण्डल
२०८० श्रावण ८ गते , सोमबार
भद्रपुरमा 'मेयर स्वास्थ्य सहायता कार्यक्रम' लाई निरन्तरता, बिरामीलाई निःशुल्क रगत

भद्रपुर नगरपालिकाले 'मेयर स्वास्थ्य सहायता कार्यक्रम'लाई निरन्तरता दिएको छ । आर्थिक वर्ष २०७९/८० को नगरपालिकाको ११ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम बमोजिम चालु आर्थिक वर्ष २०८०/८१ मा पनि नगरपालिकाले 'मेयर स्वास्थ्य सहायता कार्यक्रम'लाई निरन्तरता दिएको हो ।

यस कार्यक्रम अन्तरगत नगर क्षेत्रभित्रका विपन्न, आर्थिक अवस्था कमजोर, रगतको खर्च व्यहोर्न नसक्ने बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने छ । अघिल्लो वर्ष ५ लाख छुट्टाएको नगरपालिकाले चालु आर्थिक वर्षमा ६ लाख बजेट यो कार्यक्रमका लागि विनियोजन गरेको हो । बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा शाखाबीच आइतबार सम्झौता भएको छ । सम्झौता पत्रमा नगरपालिका प्रमुख गणेश पोखरेल र रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले हस्ताक्षर गरेका छन् ।

नगर क्षेत्रभित्रका बासिन्दा भएको प्रमाण पेस गरेपछि रक्त सञ्चार केन्द्र भद्रपुर र बिर्तामोडबाट बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने सम्झौता पत्रमा उल्लेख छ । रेडक्रसले २०८१ असार मसान्तसम्म ६०० युनिट रगत उपलब्ध गराउने र ६०० युनिट सकिएपछि दुवै पक्षको सहमतिमा कार्यक्रमलाई निरन्तरता दिने पत्रमा भनिएको छ । गत आर्थिक वर्षमा नगर क्षेत्रका ५०२ जना बिरामीले निःशुल्क रगत लिएको जनाइएको छ । 

सम्बन्धित समाचार