झापा : पाँच दिनमा १२ जनालाई डेंगी रोगको संक्रमण
बिर्तामोड । झापामा डेंगी रोगको संक्रमण बढ्न थालेको छ । गर्मी र वर्षा मौसममा झापामा डेंगी रोगको संक्रमण बढ्दै गएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार विगत पाँच दिनमा १२ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । साउन १ देखि ५ गतेसम्म ४ महिला र ८ पुरुषमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका वरिष्ठ तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले बताए ।
सङ्क्रमितमध्ये ६ जना अस्पताल भर्ना भएको उनले जानकारी दिए । डेंगी सङ्क्रमणबाट गत असोजमा दुई जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत भद्रपुर ७ सरस्वती टोल निवासी ५७ वर्षीय शशिकुमार भट्टराईको डेंगी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यस्तै बिर्तामोड – ३ निवासी एक महिलाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । काठमाडौँको सरस्वती क्याम्पसको लाइब्रेरी शाखामा कार्यरत ५२ वर्षीया निशा छेत्रीको डेंगीबाट मृत्यु भएको हो ।