२०८३ बैशाख १९ गते , शनिबार

इनरुवामा औषधि पसलको अनुगमन गर्न गएको टोलीलाई व्यापारीले २ घण्टा थुनेपछि...

sajilo news
सुनसरी
२०८० श्रावण ९ गते , मंगलबार
इनरुवामा औषधि पसलको अनुगमन गर्न गएको टोलीलाई व्यापारीले २ घण्टा थुनेपछि...

इनरुवा । औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन् । मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा सहितको टोलीलाई २ घण्टा बढी थुनेका हुन् । गृहको पत्रानुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यवसायी सहितका व्यापारी आन्दोलनमा उत्रिएका थिए ।

सो क्रममा अनुगमन टोली उपर हातपातको प्रयास हुनुका साथै दुर्व्यवहार र नाराबाजी चर्किएपछि तनावपूर्ण बनेको अवस्था नियन्त्रणमा लिन बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको थियो । औषधी व्यवसायी र व्यापारीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनुगमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्‍याइएको थियो । सो पश्चात् समेत व्यापारी समूहले बजार क्षेत्रमा प्रदर्शन जारी राखे । उनीहरूले औषधि पसल बन्द गर्ने धम्की समेत दिएका छन् ।

प्रदर्शनमा उत्रिएका नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैली उपर प्रश्न उठाउँदै आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिए । उनले अनुगमनमा सहभागी जिल्ला अस्पतालका इनरुवाका निमित्त मेसु डाक्टर देवराज घिमिरे घटनाको कारक भएको बताए । उता अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको रवैया ठिक नभएको प्रतिक्रिया दिए ।

उनले अनुगमन टोलीमाथि व्यापारी, व्यवसायीको अवरोध र आक्रमण प्रयास निन्दनीय रहेको बताए । खतिवडाले अनुगमनका क्रममा अधिकांश औषधि पसलहरू मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले पुनः अनुगमन गरी कार्यवाहीको प्रक्रियामा ल्याउने बताए।यता घटना पश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगमन प्रतिवेदन तयार पारी घटना छानबिन गरी दोषी उपर कारबाही थाल्ने जनाएको छ । हिमालय टाइम्सबाट

 

सम्बन्धित समाचार