झापामा डेंगी संक्रमणबाट एक महिलाको मृत्यु
झापा । झापाको बिर्तामोडमा डेंगी रोगको सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । यस वर्ष पहिलोपटक जिल्लामा डेंगी सङ्क्रमणबाट मृत्यु भएको हो ।बिर्तामोड नगरपालिका– ५ निवासी ४४ वर्षीया मदिना खातुनको डेंगी सङ्क्रमणबाट मृत्यु भएको हो । डेंगी पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारजनले बताए ।
ज्वरो आउने , हातखुट्टा दुख्नेजस्ता समस्या भएपछि उनलाई बुधवार बालाजी फर्मामा परीक्षण गरिएको थियो । चिकित्सकले डेंगी भएको र औषधि खाँदै आराम गर्नु भन्ने सल्लाह दिएपछि घरमा ल्याएर राखिएकोमा बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको मृतकका छोरा मिराज आलमले जानकारी दिए । त्यस विषयमा बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी प्राप्त नभएको बताएको छ ।
गर्मी र वर्षा मौसममा झापामा डेंगी रोगको संक्रमण बढ्दै गएको हो ।स्वास्थ्य कार्यालय झापाका अनुसार विगत पाँच दिनमा १२ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । साउन १ देखि ५ गतेसम्म ४ महिला र ८ पुरुषमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका वरिष्ठ तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले बताए । सङ्क्रमितमध्ये ६ जना अस्पताल भर्ना भएको उनले जानकारी दिए ।