२०८३ बैशाख १९ गते , शनिबार

डेंगुको डरलाग्दो प्रकोप : झापाको कमलमा लार्भा खोज्दै स्वास्थ्यकर्मी

sajilo news
झापा
२०८० श्रावण ११ गते , विहीबार
डेंगुको डरलाग्दो प्रकोप : झापाको कमलमा लार्भा खोज्दै स्वास्थ्यकर्मी

झापाको कमल गाउँपालिकामा डेंगुको संक्रमण देखिन थालेपछि त्यसको नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । डेंगु रोग डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकोले डेंगु लगायतका किटजन्य रोगहरूको नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको हो ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई सहित दुई जनामा डेंगु रोगको संक्रमण देखा परी सकेकोले सबैले सचेत हुनुपर्ने कमल गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी दीपक दाहालले बताए । एडिज जातको लामखुट्टे थोरै मात्र पानी जम्मा भएको भाँडामा समेत फुल पर्ने भएकोले घर भित्रका गमला , फ्रिज, कुलर एसी तथा घर बाहिर रहेका पुराना टायर तथा पानी जम्मा भएको ठाउँहरूमा खोजी सफा गरी लामखुट्टेको फुल नष्ट गरिएको स्वास्थ्यकर्मीले बताए । एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्ने गर्दछ । त्यसमा पनि बिहान र साँझको समयमा बढी टोक्ने सम्भावना भएकोले बिहान, दिउसो राती जुनसुकै बेलामा झुल लगाएर मात्र सुत्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

डेंगु रोगका लक्षणमा उच्च ज्वरो आउने, जोर्नी , मांसपेशी , आँखाको गेडी र टाउको बेस्सरी दुख्ने, शरीरमा राता बिमिराहरू आउने वाकवाकी लाग्नुका साथै वान्ता समेत आउन सक्ने गर्दछ । यदि यस्तो लक्षण देखा परे तुरुन्तै चिकित्सकको सल्लाह लिई थप उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

सम्बन्धित समाचार