हल्दिबारीमा प्रभावकारी बन्दै जनता उपचार कोष, २०० जनालाई सहयोग प्रदान
झापाको हल्दिबारी गाउँपालिकाले ‘जनता उपचार कोष’ मार्फत दुई सय जनालाई उपचार सहयोग प्रदान गरेको छ । गाउँपालिकाले स्थापना गरेको उक्त कोषमार्फत गत आर्थिक वर्ष २०७९/०८० मा दुई सय जना बिरामीलाई रु १९ लाख ४४ हजार पाँच सय आर्थिक सहयोग प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए ।
गाउँपालिकाले वार्षिक रूपमै बजेट छुट्याएर आर्थिक अवस्था कमजोर भएकादेखि गम्भीर प्रकारका रोग लागेका बिरामीलाई रोगको प्रकृति अनुसार उपचार सहायता प्रदान गर्ने गरेको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन लिङ्देनले बताए ।
आर्थिक विपन्नता कारण सामान्य रोग लाग्दासमेत उपचारबाट वञ्चित भएको पाइएकाले छुट्टै कोष बनाएर गाउँपालिकावासीको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने काम भइरहेको उनको भनाइ छ । उक्त कोषमार्फत गत आवमा वडा नं. १ का ३८ जना, वडा नं. २ को ५९ जना, वडा नं. ३ को २९ जना, वडा नं. ४ को २८ जना र वडा नं. ५ को ५६ जनाले आर्थिक सहायता पाएका छन् ।