मेचीनगरमा 'लार्भा खोज र नष्ट गर' अभियान सञ्चालन
मेचीनगर । मेचीनगरमा डेँगु संक्रमण फैलन नदिन 'लार्भा खोज र नष्ट गर' अभियान सञ्चालन गरिएको छ । पछिल्लो समय देशैभर महामारीको रूपमा फैलिदैं गएको डेँगु रोगको संक्रमण नगरमा फैलन नदिन नगरपालिकाले 'लार्भा खोज र नष्ट गर' अभियान सञ्चालन गरेको हो ।
नगरपालिकाले शुक्रवारबाट सुरु गरेको डेँगु रोग नियन्त्रणका लागि 'लार्भा खोज र नष्ट गर' अभियानको सुरुवात मेचीनगर-६ स्थित काँकडभिट्टा बजार सहित विभिन्न टोलहरूमा गरेको छ । यो अभियान नगरको पन्ध्र वटै वडामा सञ्चालन हुने मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिइन् ।
अभियानको सुरुवातमा आज मेचीनगर- ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेचीनगर स्वास्थ्य शाखा प्रमुख निरौला, पूजन अधिकारी, वडा सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, आमा समूह लगायतको सक्रिय सहभागिता रहेको थियो ।
त्यस्तै मेचीनगर- ७ ले बिहीबार प्यारीभिट्टाको नयाँ बसपार्क, वडा कार्यालय, मेचीनगरको प्रवेश मार्ग र नगरपालिकाको कार्यालय परिसरलगायत सार्वजनिक स्थलहरूमा सरसफाइ गरेको थियो । मेचीनगर- ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको संयोजनमा वडा क्षेत्रका सार्वजनिक स्थल सरसफाइ अभियान सञ्चालन गरिएको छ । सरसफाइ अभियानको अगुवाइ स्थानीय हाकिम तिम्सिनाले गरिरहेका छन् ।