२०८१ मंसीर २१ गते , शुक्रबार

कचनकवलका विद्यालयहरूमा जडित विद्युतीय ई-हाजिरी मेशिन देखाउनलाई मात्र हो ?

sajilo news
आर.के. काजी
२०८० श्रावण २१ गते , आईतबार
कचनकवलका विद्यालयहरूमा जडित विद्युतीय ई-हाजिरी मेशिन देखाउनलाई मात्र हो ?

सुकदेव पोख्रेल (लक्ष्मी मा.वि. बनियानीको शिक्षक हुन) “प्राध्यापकले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडे : त्रिवि उपकुलपति बास्कोटा” भन्छन् । विश्वविद्यालयका प्राध्यापकहरूलाई पनि समयमा हाजिरी गराउन इलेकट्रोनिक्स मेशिनको आवश्यकता पर्छ र ? उपकुलपति बास्कोटाकै कुरा शिक्षक पोखरेलले सुनाए । 

साउन १९ गते शुक्रबार देशभरका अधिकांश अनलाइन मिडिया तताएको न्युज हेड-लाइनले मेरो पनि आँखा सेकायो। यो समाचार पढ्दै गर्दा कचनकवल गाउँपालिका अन्तर्गतका म आफू कार्यरत सहितका विद्यालयहरूमा तत्कालीन स्थानीय सरकारले अनिवार्य भन्दै २०७६/७७ साल तिरै सम्पूर्ण विद्यालयहरूमा जडान गरेको ई-हाजिरी मेशिनलाई झलझली सम्झिएँ। ईमान्दार भएर भन्नु पर्दा मेरो विद्यालयमा त्यो मेशिन जडान भएको वर्ष भरि पनि सुचारु हुन सकेन। मेरो जानकारी अनुसार कचनकवलका धेरै जसो विद्यालयहरूमा अहिले त्यो मेशिनको प्रयोग भएको छैन। या त चलिरहेको मेशिनलाई बिगारिएको छ, या त बिग्रिएको मेशिनलाई काउसो हटेको जस्तो गरेर बनाउने चेष्टै गरिएको छैन।

के हो ई-हाजिरी?

ई-हाजिरी या नि कि इलेकट्रोनिक्स हाजिरी प्रणाली एउटा विशेष प्रविधि हो जसले कुनै पनि संस्थामा कार्यरत कर्मचारीहरूको उपस्थिति र अनुपस्थितिलाई रेकर्ड गर्छ र यसलाई अनलाइन ट्र्याक सम्म गर्न मद्दत गर्छ। यसको प्रयोग कहिले र कहाँबाट सुरु भयो भन्ने स्पष्ट तथ्य उपलब्ध नभए तापनि १९ औं शताब्दीको अन्त्यदेखि सुरु भएर अहिले विश्वव्यापी रुपमा विकसित राष्ट्रहरूका सरकारी र प्राइभेट संस्थाहरूमा ई-हाजिरीको व्यापक प्रयोग भई रहेको छ।

नेपालमा पनि बि.स. २०७१ साल चैत्र २ गते मुख्य सचिवको नेतृत्वमा सचिव स्तरीय बैठक बसी सूचना तथा प्रविधि विभागको सहयोगमा सम्पूर्ण सरकारी कार्यालयहरूमा एकीकृत ई-हाजिरी प्रणाली लागु गर्ने निर्णय गरेदेखि देशका अधिकांश कर्मचारीहरू यो प्रविधिको प्रयोग गर्दै आइरहेको पाइन्छ।

कचनकवलमा ई-हाजिरी मेशिन जडान आवश्यकता कि रहर ?

तत्कालीन सरकारको पालामा शिक्षा, युवा तथा खेलकुद शाखाले प्रत्येक विद्यालयमा आवश्यक ठानेरै मेशिन जडान गरेको हो या यतिकै बजेट खर्च गर्ने रहरले बहाना खोजेर हो? यो प्रश्न अहिले सम्म पनि उठान गर्दा सान्दर्भिक हुन्छ। यदि आवश्यकता नै थियो भने मेशिन जडान पछि तत्कालीन सम्बन्धित निकायले कुनै पनि विद्यालयमा पुगेर यो मेशिनको प्रभावकारी प्रयोग भए नभएको बारे चासो व्यक्त गरेन। कुनै विद्यालयमा अनुगमन गरेको थियो भने त्यो अपवाद थियो। गाउँ पालिकाकै प्राङ्गणमा अवस्थित म कार्यरत विद्यालयमा बिग्रिएको बायोमेट्रिक हाजिरी मेशिनले हरेक अनुगमनकर्ताहरूलाई जिस्काइरहेको थियो र छ। मेशिनको प्रभावकारी प्रयोगमाथि विमुख रहनुले यो जडान आवश्यकता भन्दा बडी रहर थियो कि भन्ने अनुमान लगाउन सकिन्छ।

मेशिनको उपयोगिता र यसले जन्माएको प्रश्न:

ई-हाजिरी मेशिनको उपयोगिता शिक्षक तथा कर्मचारीहरूलाई विद्यालय समयावधिको सही सदुपयोग गराउनुको अतिरिक्त अरू हुनै सक्दैन भन्ने हामी सम्पूर्णले प्रस्ट बुझेकै हुनुपर्छ। समयको उचित सदुपयोग गर्न र गराउन शिक्षा दिनु हरेक शिक्षकको अनिवार्य कर्तव्य पनि हो। ‘समयको महत्वलाई नबुझ्ने शिक्षक २१ औं शताब्दीमा को छ र, उनीहरूलाई समयको हेक्का दिलाउन यो मेशिनको जडान अनिवार्य गराइयो?’ यो प्रश्न भित्र अन्य धेरै सहायक प्रश्नहरू उठान गर्न सकिन्छ ।

  • के हामी शिक्षकहरू आफ्नो विद्यालय समयमा पुगेर समय सम्म बसिरहेका छैनौँ ?
  • के हामी विद्यालय समयलाई चोर्दै छौँ ?
  • के हामी विद्यालय ढिलो पुगेर पनि ठिक समयमा हाजिरी रेजिस्टरमा दस्तखत गर्दैछौं ?
  • के हामी विद्यालय समय अगावै निस्किएर पनि रेजिस्टरमा ४ बजाउँदै छौँ ?
  • के हामी २/३ दिन सम्म विना जानकारी अनुपस्थित रहेर पनि एकै दिन सम्पूर्ण हाजिरी गर्दैछौं ?
  • के प्र.अ.हरुले आफू निकट शिक्षक- कर्मचारीलाई समय चोर्न दुरुत्साहन गर्दैछन ?
  • यस्ता अनेकौँ प्रश्नहरूको उत्तर अधिकांश विद्यालयहरूमा गुमनाम छन्।

समयको पालना कसको कर्तव्य ?

शिक्षक विश्व जगतकै एउटा मर्यादित पेसा भएकोले समयलाई सही सदुपयोग गर्नु उसको पहिलो दायित्व हो। तथापि अन्य समस्याहरूको समाधान सहित विद्यालयमा समयको पालना गर्ने/गराउने कर्तव्य र अधिकार प्रथमतः प्रधानाध्यापक कै हुन्छ। प्र.अ. आफू विद्यालय सुरु समय भन्दा १०/१५ मिनेट अगाडि आउने र अन्तिम समय भन्दा १०/१५ मिनेट पछाडि निस्कने हो भने धेरै हदसम्म मातहतका शिक्षक-कर्मचारीहरुलाई समयको पालना गराउन सहज हुन्छ। यति गर्दागर्दै पनि समयको सही सदुपयोग गर्न/गराउन सकिएको छैन भने प्रविधिको सहायता लिन किन हिचकिचाउने ?

मेशिन सुचारु गर्दा हुनसक्ने समस्या

धेरै विद्यालयहरूमा बिग्रिएर बसेको ई-हाजिरी मेशिनलाई पुनः सुचारु गर्न फेरि सामान्य बजेटको आवश्यकता हुन्छ। बजेट सम्बन्धित विद्यालयले निकाल्ने या नयाँ सरकारले? पुरानो सरकारले सुरु गरेकै कार्यक्रमलाई निरन्तरता दिँदा नयाँ सरकारलाई यसको श्रेय जाला त ? बजेट निकालेर पुनः सञ्चालन गरे पश्चात् यसको प्रभावकारी प्रयोग हुनै पर्छ। यसको जवाफ-देहिता कसले वहन गर्ने, शिक्षक, प्र.अ., बि.ब्य.स. या शिक्षा शाखा ? शिक्षकहरूलाई समयको पालना गराउन मेशिनको प्रयोग गर्दा यस्तो गरिमामय मर्यादित पेसामाथि 

नैतिकताको सङ्कट त पर्दैन ?

अन्ततः मेशिनको प्रयोग गरे पनि नगरे पनि विद्यालय समयलाई पूर्ण पालना गर्ने शिक्षकहरूलाई मेशिनले खासै तात्त्विक असर गर्दैन। बरु झन् पो मेशिनले पूर्ण रुपमा सहयोग गर्छ। जानाजान समय चोर शिक्षकहरूलाई दुरुत्साहन गरेर समय पालना गर्ने शिक्षकहरूलाई थप ऊर्जा पनि प्रदान गर्छ। यदि तपाई र म आफ्नो विद्यालय समयको पूर्ण पालना गरिरहेका छौँ भने इलेकट्रोनिक्स हाजिरी जडानले हाम्रो गरिमालाई धावा बोल्ने प्रश्नै उठ्दैन। अहिलेको प्रविधिको युगमा ई-हाजिरी मेशिनलाई बिगार्नु तथा गायब पार्नु भन्दा यसको पूर्ण पालना गरेमा चाहिँ हाम्रो नैतिकता माथि प्रश्न उठाउनेहरूको लागि अचुक औषधि बन्ने थियो ।

सम्बन्धित समाचार