दमकमा बिना दर्ता औषधि बिक्री गर्ने तीन जना पक्राउ
झापा । झापाको दमकमा बिना दर्ता औषधि बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका- ७ निवासी २६ वर्षीय दीपेश खड्का, दमक- ६ निवासी ३३ वर्षीय रोशनकुमार साह र इलाम जिल्ला साबिक दानाबारी गाविस- ७ घर भई हाल दमक- ८ निवासी २६ वर्षीय सञ्जीव सुबेदी रहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
दमक- ७ स्थित पशु हाटमा बिना ईजजात धेरै परिणाममा औषधिहरू बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका ५ बजे उनीहरूलाई औषधि सहित पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड नामक क्याप्सुल ८ हजार ५६० पिस र स्पासीपिन ट्याब्लेट ७ हजार पिस औषधि बरामद गरेको जनाइएको छ । प्रहरीले उनीहरूले प्रयोग गरेको प्र १-०१-०१२ प ८५३५ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको आइतबार औषधि व्यवस्था विभाग कार्यालय विराटनगर पठाइएको डीएसपी रिजालले बताए ।