सरस्वतीको सम्पत्ति छ, उपचार गर्ने पैसा छैन, सहयोगको लागि अपिल
हल्दिबारी । झापाको हल्दिवारी गाउँपालिका- ३ निवासी ५२ वर्षीया सरस्वती भट्टराई बस्नेत एक वर्ष यता घाँटीको क्यान्सर रोगसित लड्दै आइरहेकी छिन् । इलाम देउमाई नगरपालिका- २ महाभीर मूल घर रहेकी बस्नेतको ५० रोपनी जति जमिन सोही स्थानमा रहेपनि उपचार गर्न सो जमिन उपभोग गर्न नपाएपछि माइती तथा शुभचिन्तक दाताको भरमा उपचार गर्न बाध्य भइरहेको दुखेसो गर्छिन् ।
माइतीले दिएको जग्गामा हल्दिवारी ३ शिकारीबारीमा घर बनाइ दुई छोरी एक छोराको जिम्मेवारी समेत सम्हालेर जीवन गुजारा गरिरहेकी सरस्वती सम्पत्ति भएर पनि उपचारमा खर्च गर्न नपाएपछि पीडा पाल्न बाध्य छिन् ।
अर्की श्रीमती लिएर इलाममै रहेका श्रीमान् देवराज बस्नेतले देउमाईमा रहेको जग्गा बेच्न नदिएपछि दाताको भरमा उपचाररत रहनु परेको पीडित सरस्वतीको गुनासो छ । जेठी छोरी केही समय अगाडि विवाह गरेर गए पनि एक छोरो र एक छोरी नाबालक नै रहेकाले उपचार खर्च जोहो गर्न दाताको भर पर्नु परेको सरस्वतीका दाजु नरबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार सरस्वतीको उपचार भक्तपुरको सल्लाघारी क्यान्सर अस्पतालमा भइरहेको छ । उपचार खर्च महँगो रहेका कारण माइती पक्षले मात्र खर्च जोहो गर्न नसकेर दाता खोज्नु परेको उनको गुनासो छ ।
बिरामी सरस्वतीका श्रीमान् तथा बस्नेत परिवारका कुनै पनि सदस्यले उपचारमा चासो र सहयोग नगरेको माइती पक्षको भनाइ छ । आफ्नै सम्पत्ति भएर पनि उपचार गर्न नपाएकी सरस्वतीलाई माइती गाउँका शुभचिन्तक र माइती दाजुभाइले दिएको रकमबाट उपचार भइरहेको भए पनि दाताको सहयोग रोकिने बित्तिकै उपचार प्रभावित हुने अवस्था आएको दाजुको भनाइ छ ।