अन्ततः मनमोहन अस्पतालको लफडा ३५ लाखमा मिल्यो
झापा । अन्ततः झापास्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडको लफडा ३५ लाख क्षतिपूर्ति दिने सहमतिपछि मिलेको छ ।
मनमोहन अस्पतालमै कार्यरत महिला कर्मचारीले सुत्केरी गराउँदा चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै विवाद उत्पन्न भएको थियो । सोमबार साँझदेखि उत्पन्न भएको विवाद मंगलबार दिउँसो आएर साम्य बनेको हो ।
अस्पताल प्रशासन, पीडित पक्ष, जनप्रतिनिधि, प्रहरीबीच भएको सहमति अनुसार पीडित परिवारलाई २० लाख रुपैयाँ राहतस्वरुप दिने र शिशुको शिक्षा तथा स्वास्थ्यको लागि १५ लाख रुपैयाँ बैङ्कमा जम्मा गर्ने, अन्यत्र उपचारका क्रममा लागेको सम्पूर्ण खर्च मनमोहन अस्पतालले व्यहोर्नेलगायतका सहमति भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले जानकारी दिए ।
प्रसूति गराउन आएकी बिर्तामोड नगरपालिका–१ की २७ वर्षीया सिर्जना सङ्ग्रौलाको उपचारका क्रममा भएको लापरबाहीका कारण स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै उनका परिवार र आफन्तजन आन्दोलित बनेका थिए । अस्पतालका डाक्टर एकराज गौतमले शल्यक्रिया गरी बच्चा जन्मिसकेपछि सुत्केरीको अवस्था गम्भीर बनेको आरोप लगाएका थिए । सुत्केरीको अवस्था गम्भीर बनेपछि थप उपचार लागि अर्को अस्पताल बिर्ता सिटी लगिएको थियो । बिर्ता सिटी अस्पतालमा उपचार हुँदै गर्दा सङ्ग्रौलाको अवस्था गम्भीर भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उपचार गर्दा सुत्केरीको अवस्था गम्भीर भएपछि विभिन्न माग राख्दै पीडित पक्षले हिजै साँझदेखि आन्दोलनमा उत्रिएका थिए । अस्पतालमा विवाद बढ्दै गएर ठुलो भौतिक क्षति हुनसक्ने सम्भावनाका कारण प्रशासनले अस्पताल परिसरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो । मङ्गलवार पनि अस्पताल परिसरमा प्रहरीले तैनाथ गरिएको थियो ।
सहमतिपछि अस्पताल प्रशासनले आजै १० लाखको चेक पीडित परिवारलाई दिएको छ । बाँकी रकम असोज महिनाभित्र दुई किस्तामा दिने बताइएको छ । गएराति पनि २० लाख क्षतिपूर्ति दिने र शिशुको शिक्षा, स्वास्थ्यको जिम्मा अस्पतालले लिने सहमति भएको थियो । त्यो सहमतिको पत्र बाहिरिएको थियो । तर, पीडित परिवारले त्यसलाई बिहानसम्म स्विकारेन । दिउँसोको छलफलपछि त्यही सहमतिलाई केही परिमार्जन गरी उनीहरूले स्विकारको अवस्था छ ।
हिजो नै सुत्केरी सिर्जनाको मृत्यु भएको भनी आफन्तले मिडियाको अगाडि बोलेका थिए । त्यो भिडियो क्लिप नै सामाजिक सञ्जालबाट बाहिरिएको थियो । आज सिर्जनाको मृत्यु नभई भेन्टिलेटरमा उपचार भइरहेको बताउँदै घरपरिवारले क्षतिपूर्ति बापतको रकम बुझेका छन् ।