विराटनगरको अस्पतालमा अविवाहित महिलाले जन्माएको बच्चा गायब भएपछि...
विराटनगरको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायव भएको घटना बाहिरिएको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–९ मा रहेको अस्पतालबाटै बच्चा गायव बनाइएको हो। २६ वर्षीया युवतीले सोही अस्पतालमा नवजात शिशु (छोरी) जन्माएकी थिइन्। प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो। भोलिपल्टै उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिएकी हुन्।
प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई र ती युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लिएर गएको खुलेको छ।
उक्त क्लिनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरेका थिए। लगत्तै उनले युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गरेको पाइएको डीएसपी दाहालले बताए। वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ।
अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ। ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ। अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन्।
‘बच्चा बिना नै टेम्पोमा राखेर उहाँ(गोविन्द)ले मलाई इटहरी पुर्याउनु भयो। बसपार्क छेउको होटलमा कोठा लिएर राख्नु भयो। बच्चा खोइभन्दा अस्पतालमै छ भन्नु भयो। दुई दिनपछि (असार १६ गते) मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनु भयो। त्यसपछि फर्किएर आउनु भएन। होटलको नाम मलाई थाहा छैन,’ टेलिफोन सम्पर्कमा युवतीले भनिन्। होटलमा अलपत्र छाडेर हिँडेका गोविन्द फर्किएर नआएपछि आफू सुनसरीको सोनापुर आएर बसेको उनले सुनाइन्।
उनले गोविन्दले छाडेर गएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको बताइन्। ‘मैले जिउँदै बच्चा जन्माएकी हुँ। छोरी जन्मिएको भनेर नर्सहरुले भने। पछि डिस्चार्ज गर्दा बच्चा दिएनन्। गोविन्दले नै बच्चा राख्ने व्यवस्था मिलाएजस्तो लाग्यो,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा अहिलेसम्म मेरो साथमा छैन। अस्पतालबाटै गायव बनाइयो। सुत्केरी अवस्थामा गोविन्दले पनि छाडेर हिँडेपछि अलपत्र परें। धेरै पीडा सहेर बसें।’ बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायव बनाएको गुनासो उनको छ।
होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन्। उपचारमा संलग्न चिकित्सक र प्रेमविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन्। प्रहरीले अन्दाजी ६८ वर्षीय डा. कर्ण र उनका प्रेमी (बच्चाको बाबु) भनिएका गोविन्दलाई पक्राउ गरेको छ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) हुन्। सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए। उनी ग्रीनक्रस अस्पतालमा पनि काम गर्छन्।
डीएसपी दाहालका अनुसार दुवै जनालाई शुक्रबार साँझ पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा. कर्ण कोसी अस्पतालमा भर्ना भएका छन्। प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ। अन्नपूर्ण पोष्टबाट साभार