नेता आङ्बोले भने : पार्टी सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा
बिर्तामोड । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य इन्द्र आङ्बो (मौसम) ले पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।
पार्टीले सञ्चालन गर्न लागेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को अभिमुखीकरण कार्यक्रम तथा जिल्ला समन्वय समिति झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता आङ्बो त्यस्तो बताएका हुन् ।
मुलुकलाई समाजवादको बाटोमा अघि बढाउने पार्टीको मूल उद्देश्य भएकाले समाजवाद स्थापित गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि अपरिहार्य रहेको उल्लेख गरे । “ठुलो क्रान्तिबाट प्राप्तबाट उपलब्धिलाई अब शान्तिपूर्ण मार्गबाट स्थापित गर्नुपर्छ”, माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता समेत रहेका उनले भने, “मुलुकको आर्थिक विकासलाई मूल उद्देश्य बनाउनु पर्नेछ ।”
मुलुक हरेक कुरामा परनिर्भर भइरहेको अवस्थाको अन्त्य गर्न हरेक नेता–कार्यकर्ता जनतामाझ गएर उत्पादन, बजारीकरण, औद्योगिकीकरणमा जोडिनुपर्ने पार्टीको नीति अनुरूप चल्नुपर्ने उनले बताए । “केन्द्रीयदेखि टोलसम्मका नेता–कार्यकर्ता लाग्नुपर्छ”, उनले भने, “जनताको घर–घरमा गएर उहाँहरूको समस्या बुझ्नुपर्छ ।”
त्यस्तै, केन्द्रीय सदस्य शिवकुमार मण्डलले माओवादीकै एजेन्डामा मुलुकमा चले पनि जनतालाई बुझाउन नसक्दा पार्टी कमजोर बन्दै गएको बताए । “पार्टीले मुलुकमा ऐतिहासिक परिवर्तन गरेर गणतन्त्र आएको हो”, उनले भने, “तर, पनि अन्य पार्टी भन्दा फरक नदेखिएकाले जनमत घट्दै गएको छ ।”
पार्टीको दोष हटाउन र पार्टीलाई जीवन्त बनाउन पार्टीले निर्धारण गरेको तीन महिने अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरे। पार्टीलाई बलियो बनाउन माओवादी नेता–कार्यकर्ता स्वयम् सच्चिन जरुरी रहेको समेत उनले बताए ।
पछिल्लो समय माओवादी पार्टी पोखरीमा जमेको पानी जस्तो भएको बताउँदै उनले अब गडगडाएर बग्ने खोला बनाउन पार्टीले ३ महिने अभियान सञ्चालन गर्न लागेको सुनाए । परिवर्तनका लागि राष्ट्रियता र सुशासन अनिवार्य भएकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार मुलुकमा सुशासन कायम गर्न लागि परेको बताए।
माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका अध्यक्ष राजु आचार्य अग्निले भदौ १६ देखि मङ्सिर १५ गतेसम्म पार्टीले ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नाराका साथ जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्न लागिएको बताए । अभियान अन्तरगत झापाका १३१ वटै वडाको वडागत जिम्मेवारी पाउनेहरू प्रमुख तथा सदस्यको नामावली वाचन गरे।
कार्यक्रममा झापा क्षेत्र नम्बर ३ का संयोजक भवानीप्रसाद दंगालले केन्द्रीय सर्कुलर वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव मोहन टुडूले सञ्चालन गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य झलकबहादुर दर्लामी मगर (सन्देश), राजेन्द्र कार्की (नवीन), रञ्जित तामाङ, गोड्बु शेर्पा (कर्जायाङ), हरिकुमार राना, मोहन खड्का, ज्योतिसिंह दर्लामी, ममता राजवंशी, केन्द्रीय अनुशासन आयोग सदस्य पूर्णसिंह राजवंशी, प्रदेश सचिव गणेश उप्रेती (सुशील), सहसचिव रचना राई, जिल्ला सहइञ्चार्ज, शहीद बेपत्ता परिवार लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ घोषणा गरेको थियो । उक्त बैठकले नेताहरूको कार्य विभाजन गर्नुका साथै ‘जनतासँग विशेष रूपान्तरण अभियान’को घोषणा गरेको थियो भने अभियानमा अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरू वडा–वडामा पुगेर जनतासँग जोडिने भएका छन् ।