२०८३ बैशाख १९ गते , शनिबार

लागुऔषध प्रयोगकर्ताका लागि 'लक्ष्य पुर्नस्थापना केन्द्र' सञ्चालनमा

sajilo news
झापा
२०८० भाद्र ८ गते , शुक्रबार
लागुऔषध प्रयोगकर्ताका लागि 'लक्ष्य पुर्नस्थापना केन्द्र' सञ्चालनमा

मेचीनगर । पछिल्लो समय लागु औषध प्रयोगकर्ता समाजमा भयावह अवस्था बन्दै जाँदा त्यसलाई न्यूनीकरण गर्न झापाको मेचीनगर- ८ स्थित प्रतिभा चोकमा “लक्ष्य पुनर्स्थापना केन्द्र” सञ्चालनमा आएको छ ।

पुनर्स्थापना केन्द्रको एक कार्यक्रमकाबीच मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमलाले उद्घाटन गरे । उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष धमलाले युवाहरू जानी नजानी कुलतमा फस्ने गरेको बताउँदै त्यसबाट उनीहरू मुक्त हुन सकिरहेका हुँदैनन् । उनले भने, कुलतमा फसेकाहरू आफूले चाहेर पनि कुलतबाट मुक्त हुन नसकिरहेको अवस्थामा यस लक्ष्य पुनर्स्थापना केन्द्रले त्यस कार्यमा सशक्त ढङ्गले लाग्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा मेची अभियानका संयोजक विजय डालिमियाले कुलतमा फसेकाहरूलाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले युवाहरू कुलतमा फस्नुमा घरपरिवार, समाज र राष्ट्र पनि त्यतिकै जिम्मेवार बन्नुपर्ने बताउँदै जुनसुकै कारणले कुलतमा फसेकाहरूलाई त्यसबाट मुक्त गराउँदै सामान्य जीवनमा ल्याएर दक्ष बनाउँदै उसको दैनिकी र जीविकोपार्जनमा सहज हुने परिवेश सिर्जना गर्नुपर्ने बताए ।

त्यस्तै मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, मेचीनगर ८ की वडा सदस्य तथा कार्यपालिका सदस्य कविता मिजारलगायतले अब वडा र आसपासका बासिन्दाले आफ्ना परिवारका सदस्य कोही कुलतमा परेका भए यस केन्द्रले त्यसबाट मुक्त गराउन मद्दत गर्ने विश्वास लिइएको बताए ।  

अहिले धेरै परिवारहरू आफ्ना सदस्य कुलतमा फस्दा घर झगडा, आर्थिकदेखि सामाजिक प्रतिष्ठा सबै गुमाउने अवस्थामा पुग्ने गरेको तितो यथार्थ रहेको बताउँदै त्यसलाई कम गर्न आफूहरूले कुलतमा फसेकाहरूलाई नयाँ जीवन दिन लागु औषध, मादक पदार्थ परामर्श तथा उपचार केन्द्र सञ्चालनमा ल्याइएको लक्ष्य पुनर्स्थापना केन्द्रका अध्यक्ष प्रवीण थुलुङ बताउँछन् । उनले केन्द्रमा अहिले २५ जना क्षमताको रहेको बताए ।

उद्घाटन सत्रमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजाल, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष कञ्चन बराल, शिक्षा सेवी रुपसागर अधिकारी, जनप्रतिनिधि, समाजसेवी, पत्रकारलगायतको आतिथ्य रहेको थियो ।
लक्ष्य पुनर्स्थापना केन्द्रका अध्यक्ष प्रवीण थुलुङको अध्यक्षताका सम्पन्न कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै स्वागत संस्थाका सचिव चन्दन गौतमले गरेका थिए भने, सञ्चालन सहसचिव रघुनाथ धिमालले गरेका थिए ।

सम्बन्धित समाचार