नेता-कार्यकर्ताको आचरण सुधार भए २०८४ सालको निर्वाचनमा पहिलो पार्टी बन्छ- नेता गर्जियाङ
बुद्धशान्ति । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सभासद् गम्बु शेर्पा (गर्जियाङ)ले पार्टीमा वैचारिक दृष्टिकोण सहित नेता-कार्यकर्ताको आचरण सुधार भए २०८४ सालको निर्वाचनमा पहिलो पार्टी बन्ने बताएका छन् । नेता-कार्यकर्ताले जनतालाई विश्वास दिलाउने इमानदार र राम्रो कार्यसम्पादन गरे आउने चुनावमा माओवादी केन्द्रले दुई तिहाइ मत ल्याएर देशलाई निकास दिने नेता (गर्जियाङ) ले बताएका हुन् ।
केन्द्रीय कमिटीको निर्देशन अनुसार `घरघरमा माओवादी विशेष रूपान्तरण अभियान´ अन्तरगत मेचीनगर र बुद्धशान्ति गाउँ पालिकाको संयुक्त विस्तारित बैठकलाई प्रमुख अतिथिको दीर्घबाट सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । सभासद् पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली नै ठिक नै छैन भन्ने सहभागी कार्यकर्ताको सवालको जवाफ दिँदै नेता (गर्जियाङ) ले तीन महिने अभियानबाट सबै कार्यकर्ताको कार्यशैली सुधार हुँदै पार्टीको शिर उच्चो हुने विश्वास दिलाएका थिए । पार्टी सुधार गर्न आफ्नो तहबाट केन्द्रीय कमिटीमा घनिभूत रुपमा विषय उठान गरेको जानकारी गराउँदै उनले भने, पार्टीलाई मजबुत र दर्बिलो बनाउन कार्यकर्ता र सर्वसाधारणबीचको आन्तरिक अविश्वासको समस्या छ त्यसलाई समाधान गर्नु अहिलेको अभियानको चुनौती हो ।´
चुनौती सामना गर्नका लागि सिक्ने र सिकाउने विधिमा जानुपर्नेछ पार्टीको मूल एजेन्डालाई पूर्णता दिनु नै अभियानको मुख्य उद्देश्य हो । दलाल पुँजीवादको अन्त्य नभएसम्म सबै वर्गको आफ्नो अधिकार सुनिश्चित नहुने भएको जनाउँदै नेता (गर्जियाङ) ले पार्टीको स्पष्ट गन्तव्य समाजवाद भएकाले उल्लेख गरे । पार्टीको एजेन्डाको विषयमा जनतालाई बुझाउने नेता कार्यकर्ताको मनोस्थिती नै बिग्रिएर स्खलन भएका कारण पार्टी कमजोर भएको उनको भनाई थियो । सामन्तीलाई ढाल्न वा क्रान्ति-प्रतिक्रान्तीका विषयमा झापा जिल्लाले राष्ट्रिय राजनीतिमा दर्बिलो पहिचान बनाएको उल्लेख गर्दै हाल राजनीतिमा कमजोर हुँदा झापामा माओवादी केन्द्र कमजोर भएको उनको बुझाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक राजु आचार्य अग्निले मेचीनगर र बुद्धशान्ति गाउँमा कार्यकर्ता र पार्टीले चुनावीताका समयमा उचित निर्णय गर्न नसक्दा उम्मेद्बारले हार बेहोर्नुपरेको भन्ने सहभागीले उठाएका विषयमाथि सहजीकरण गरेका थिए । कार्यक्रममा प्रदेश सदस्य श्यामवीर लिम्बु, राजु चुँडाल, प्रकाश भण्डारीलगायतले तिन महिने अभियानले नेता तथा कार्यकर्ताको आचरण सुधार भई माओवादी केन्द्र रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा कृष्ण सिटौला, गोपी रिजाल, बद्री फुयाँल, तारा तामाङ, बिगेन्द्र दाहाल, डिल्लीराम श्रेष्ठलगायतले राजनीति, वैचारिक तथा पार्टी सुधार गर्नुपर्ने कारणसहित जिज्ञासा राखेका थिए । माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्दिरा कार्कीले कार्यपत्र वाचन तथा राजन चिमरियाले कार्यक्रम सञ्चालन गरेका थिए ।