२०८३ बैशाख २६ गते , शनिबार

राष्ट्रिय युवा संघ भद्रपुरको दोस्रो अधिवेशन सम्पन्न

sajilo news
झापा
२०८० भाद्र १० गते , आईतबार
राष्ट्रिय युवा संघ भद्रपुरको दोस्रो अधिवेशन सम्पन्न

भद्रपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले संगठनमा आबद्ध युवाहरूलाई देशको समृद्धिका लागि काम गर्न आह्वान गरेका छन् ।

आइतबार भद्रपुरमा आयोजित राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष थेबेले युवा शक्ति राष्ट्र निर्माणको मेरुदण्ड भएकोले यो शक्तिलाई खेर फाल्न नहुने धारणा व्यक्त गरे ।

संघका अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि थेबेले अहिले युवा वर्ग राजनीतिप्रति उदासीन बन्दै गएकोप्रति दुःख व्यक्त गर्दै देशको भाग्य र भविष्यको मुख्य आधारशिला युवा भएकोले राजनीतिबाट टाढा भाग्न नहुने उल्लेख गरे ।

उनले राष्ट्रिय युवा संघ सबैभन्दा ठुलो जनाधार भएको स्थापित संगठन भएकोले यही संगठनमा गोलबद्ध भएर देश र जनताको हितका लागि काम गर्न युवाहरूलाई आह्वान गरे । 

संघका सचिव अर्जुन बानियाँले सञ्चालन गरेको कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले झापाका उपसचिव एवम् जनसंगठन संयन्त्र प्रमुख असारु राजवंशीले शुभकामना मन्तव्य राख्दै राष्ट्रिय युवा संघमा आबद्ध युवाहरूलाई रचनात्मक गतिविधिमा अग्रसर हुन आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा भएका गतिविधिका बारे चर्चा गरेका थिए । यो समाचार तयार पार्दासम्म अधिवेशनको बन्द सत्र चलिरहेको छ भने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ ।

 

सम्बन्धित समाचार