झापामा माओवादी अभियान, जनताका समस्या र गुनासा सुन्दै
मेचीनगर । नेकपा माओवादी केन्द्रको ‘जनतासँग विशेष रूपान्तरण’ अभियान कार्यक्रम झापाका १५ वटै पालिकाका १३१ वटै वडामा जनतासँग जोडिएर रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका छन् । जनतासँग जोडिने वाचा गरेको माओवादीले जनताका समस्या र गुनासा बटुल्ने प्रयास गरेको हो । जनताका गुनासालाई समाधान गर्न र सधैँ जनतासँगै जोडिएर अभियान निरन्तर अघि बढाइने उद्घोष गरिएको छ ।
यसै क्रममा झापाको मेचीनगर, बुद्धशान्ति, भद्रपुर, बिर्तामोड, कनकाई, दमक, शिवसताक्षी, हल्दिबारी, गौरादह लगायत सबै पालिकामा अभियान सुरु भएको छ । झापाको बुद्धशान्तिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव राम कार्की ‘पार्थ’ले जनतासँगको सम्बन्ध घनिष्ठ बनाउनुपर्ने बताए । बुद्धशान्ति–४ को टीमाई शिविरमा आयोजित गाउँपालिकाको विस्तारित बैठक तथा अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्कीले माओवादीलाई फेरि जनतातिरै फर्काइदिएको बताएका हुन् । ‘हाम्रा चालचलनहरू बिग्रिँदै गएका छन् । हामीले साथीभाइ बिर्सिएका छौं’ उनले भने । अब हामी सच्चिएर जनतासामु जानुपरेको हो ।’ माओवादी पार्टी अलिअलि बिग्रिएको भएपनि जनताको भरोसा यही पार्टीमा रहेको उनको भनाई छ ।
मुलुक परिवर्तनका निम्ति माओवादी पार्टीको योगदान सधैभरी रहिरहने बताए । उनले जनताका समस्या समाधान गर्न आफूहरू लागि रहेकाले हल्ला पछाडि नलाग्न आग्रह गरे । बुद्धशान्तिको सुकुम्वासी, पानीको समस्या लगायत विकासका समस्याहरू सम्बोधन गराउन प्रधानमन्त्रीसँग कुरा राख्नेसमेत आश्वासन दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका मेचीनगर–बुद्धशान्ति संयोजक गोम्बु शेर्पा, बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष प्रेम लिम्बु लगायतले मन्तव्य राखेका थिए । यस्तै, मेचीनगरको धुलाबारीमा आयोजित माओवादीको तीन महिने अभियान सुरु गरिएको छ ।
प्रदेश नम्बर १ सदस्य राजु दाहालको प्रमुख आतिथ्य तथा केन्द्रीय सल्लाहकार मुुकुलचन्द्र राजवंशीको विशिष्ट आतिथ्यमा दुई विपन्न ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा शिक्षक नेता टीका पौडेल, अभियान प्रमुख प्रकाश खड्कालगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन कृष्ण सिटौला कौशलले गरेका थिए । यस्तै, भद्रपुरमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत भद्रपुर वडा ७ मा अभियान सुचारु गरिएको छ । कार्यक्रममा पूर्व सभासद् पूर्णसिंह राजवंशी, प्रदेश सदस्य निरु खतिवडा, जिल्ला सदस्य नरपति वानेम, शिबु बुढाथोकीलगायतको आतिथ्य रहेको थियो ।