मेचीनगरमा डेंगु परीक्षणका लागि निःशुल्क किटको व्यवस्था, ४९ जना संक्रमित
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले डेंगु संक्रमण परीक्षणका लागि निःशुल्क किटको व्यवस्था गरेको छ । मेचीनगर स्वास्थ्य शाखाका अनुसार नगरपालिकाले मातहतका विभिन्न स्वास्थ्य संस्थाहरूमा अहिले डेंगु जाँच्नका लागि डेंगु किट निःशुल्क व्यवस्था गरिएको जनाएको हो ।
मेचीनगरमा अहिलेसम्म ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार नगरमा एक सय बढी शङ्कास्पद बिरामीमा परीक्षण गर्दा ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् । अहिले मौसम परिवर्तनले गर्दा ज्वरो आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । ज्वरो आउँदैमा ती सबै बिरामलाई डेंगु संक्रमण नहुन सक्ने उनको भनाइ छ ।
अहिले बाहुण्डाँगी स्वास्थ्य चौकी, काँकडभिट्टा स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारी, ज्यामिरगढी स्वास्थ्य चौकी, दुहागढी स्वास्थ्य चौकी र धाइजन स्वास्थ्य चौकीमा डेंगु जाँच्नका लागि डेंगु किट निःशुल्क व्यवस्था गरिएको उनले बताइन् ।
स्वास्थ्य कार्यालयको मापदण्ड अनुसार तीन दिन भन्दा बढी ज्वरो आएको, रगतको सिभिसी जाँच पश्चात् आवश्यक भएकाहरूलाई अहिले निःशुल्क डेंगु जाँच्नका लागि किटको व्यवस्था गराउने गरिएको स्वास्थ्य प्रमुख निरौलाले बताइन् । साथै उनले अहिले जोखिम युक्ति ठाउँमा डेंगुको लार्भा मार्ने विटिआई औषधि छर्कने तयारी भइरहेको उनले बताइन् ।