२०८३ बैशाख १९ गते , शनिबार

शिविरबाट पाँच सयबढी विद्यार्थी र अभिभावक लाभान्वित

sajilo news
झापा
२०८० भाद्र २३ गते , शनिबार
शिविरबाट पाँच सयबढी विद्यार्थी र अभिभावक लाभान्वित

बिर्तामोड  । बिर्तामोड नगरपालिका– ७ विरानस्थित  कञ्चन इङ्गिलस बोर्डिङ स्कुलमा शुक्रवार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी विद्यार्थी र अभिभावक लाभान्वित भएका छन् । मनमोहन हस्पिटल बिर्तामोडको प्राविधिक  सहयोगमा भएको शिविरबाट स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न नसक्ने ग्रामीण क्षेत्रका विद्यार्थी र अभिभावकहरूले भरपुर लाभ लिएका हुन् । विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा उनीहरूको घुइँचो  नै लागेको थियो ।

शिविरमा ५०४ जना विद्यार्थी र अभिभावकले चेकजाँच गराएको विद्यालयका फाउन्डर प्रिन्सिपल दीपक चम्लागाईले बताए । विद्यार्थीहरू बिरामी भइरहेकाले नियमित कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उनले बताए ।  शिविरमा मनमोहन हस्पिटलका बाल रोग विशेषज्ञ डा. वरुण अग्रवालको नेतृत्वमा  १३ जनाको स्वास्थ्यकर्मीहरूको टोलीले चेकजाँच गरेको थियो । टोलीमा मेडिकल अफिसरहरू डा. आरजु सुनुवार ,  डा. अजाज आचार्य, दुईजना हेल्थ असिस्टेन्टलगायतले सेवा दिएको विद्यालयका संस्थापक तथा एकाउन्टेन्ट डिल्लीराम चम्लागाईले बताए । उनले मनमोहन हस्पिटलसँग सहकार्य गरेर प्रत्येक वर्ष विद्यालयमा स्वास्थ्य शिविर गर्दै आएको जानकारी दिए । त्यस्तै मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर पनि आयोजना गरिएको उनले बताए ।  शिविरमा निःशुल्क औषधी वितरणसमेत गरिएको थियो ।

बिरामी भएपछि मात्र स्वास्थ्य संस्थामा जाने अवस्था भएका निम्न वर्गीय परिवारका लागि सो शिविर फलदायी रहेको अभिभावक कल्पना रोक्काले बताइन् । उनले आफू र युकेजीमा अध्ययनरत आफ्ना छोराले चेकजाँच गराएको जानकारी दिइन् । त्यस्तै अर्की अभिभावक  टीका निरौलाको लागि पनि सो शिविर आवश्यक थियो । पैसा नभएर स्वास्थ्य संस्थामा जान नसक्ने विद्यार्थी र अभिभावकका लागि नियमित रुपमा त्यस्ता शिविर जरुरी भएको उनले खाँचो औँल्याइन् ।  २०६४ सालमा स्थापना भएर कक्षा १० सम्म अध्ययन भइरहेको त्यस विद्यालयमा ५४० जना विद्यार्थी छन् ।

विद्यालय ग्रामीण क्षेत्रमा रहे पनि भौतिक पूर्वाधारले सम्पन्न ३ वटा भवनमा  २७ वटा कोठा रहेका छन् ।विद्यालयले एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरेको अर्का संस्थापक तथा सह प्रधानाध्यापक बद्री बास्कोटाले बताए । ‘बिर्तामोड क्षेत्रका अरू संस्थागत विद्यालयको शुल्क हेर्ने हो भने हाम्रो शुल्क सस्तो छ ’उनले भने,‘ शुल्क सस्तो लिएर स्तरीय शिक्षा प्रदान गरिरहेका छौँ ।’ विद्यालयका तीनै जना संस्थापकसँगै अन्य शिक्षकहरू दक्ष र अनुभवी  भएकाले पनि परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बनेको उनको भनाई छ ।         

सम्बन्धित समाचार