२०८३ बैशाख १५ गते , मंगलबार

मेची आँखा उपचार केन्द्र भद्रपुरमा अन्तरङ्ग विभागको उद्घाटन, निःशुल्क आँखा शिविर सुरु

sajilo news
झापा
२०८० भाद्र २४ गते , आईतबार
मेची आँखा उपचार केन्द्र भद्रपुरमा अन्तरङ्ग विभागको उद्घाटन, निःशुल्क आँखा शिविर सुरु

भद्रपुर । भद्रपुर– ५ स्थित मेची आँखा उपचार केन्द्रको आफ्नै भवनमा आजदेखि अन्तरङ्ग सेवा सञ्चालनमा आएको छ । बिर्तामोडस्थित मेची आँखा अस्पतालको करिब एक करोड रुपैयाँको लागतमा नवनिर्मित १५ शय्याको अन्तरङ्ग विभागको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको हो । 

सो अन्तरङ्ग विभागको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, जग्गादाता तथा समाजसेवी सत्यनारायण सरिया र मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङले संयुक्त रुपमा रिबन काटेर गरेका थिए । 

मेची आँखा अस्पताल संघले आफ्नो सेवा विस्तारको क्रममा भद्रपुरमा २०७५ साल मङ्सिर ७ गतेदेखि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो । भद्रपुर निवासी स्व. जयनारायण र शारदादेवी सरियाले आँखा उपचार केन्द्र निर्माणका लागि एक बिगाहा जमिन निःशुल्क दान दिएका थिए ।  सरिया परिवारले जग्गा दान दिएपछि यहाँका आँखा रोगीलाई लक्षित गरी आँखा उपचार केन्द्र स्थापना गरिएको संघका निवर्तमान अध्यक्ष छत्रप्रसाद अधिकारीले जानकारी दिए । 

सुरुमा आँखाको मात्र परीक्षण गरिन्थ्यो । २०७७ असोजदेखि मोतिया विन्दुको शल्यक्रिया सेवा पनि विस्तार गरियो । हप्तामा एक दिन बुधबार शल्यक्रिया गरिने बिरामीलाई झापा उद्योग संघको भवनमा राख्नु पर्ने बाध्यता रहेको बताउँदै संघका निवर्तमान अध्यक्ष अधिकारीले भने, ‘आजदेखि अन्तरङ्ग विभाग सञ्चालनमा आएसँगै त्यो बाध्यता हटेको छ, अब हप्ता नभई छिट्टै चिकित्सकको दरबन्दी कायम गरी दैनिक शल्यक्रिया सेवा सञ्चालनमा ल्याउने तयारीमा छौँ ।’ अन्तरङ्ग विभागको भवन निर्माणमा ९८ लाख रुपैयाँ खर्च भएको छ । 

अन्तरङ्ग विभागमा चाहिने आवश्यक स्वास्थ्य उपकरण र बेड जग्गादाता जयनारायण सरियाले उपलब्ध गराएको उनले बताए ।  मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको भवन उद्घाटन कार्यक्रममा जग्गादाता सत्यनारायण सरिया, ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेल, रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईँ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको औचित्यमाथि आँखा अस्पतालका डा. पुरुषोत्तम जोशी प्रकाश पारेका थिए । 

स्वागत मन्तव्य संघका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारीले राखेको कार्यक्रमको सञ्चालन संघका सचिव गणेश पोखरेलले गरेका थिए । त्यस्तै आँखा उपचार केन्द्र परिसरमा रोटरी, रोट्रयाक्ट, इनर व्हील र इन्टरर्याक्ट क्लब अफ भद्रपुरले तीन दिने शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सञ्चालन गरेको रोटरी क्लब अफ भद्रपुरका पूर्व अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । 

सम्बन्धित समाचार