भद्रपुरमा निःशुल्क आँखा शिविर, ५५० जना बिरामीको उपचार
भद्रपुरमा सञ्चालित निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा ५५० जना बिरामीले सेवा लिएका छन । भद्रपुर आँखा उपचार केन्द्रमा भदौ २४ गते देखि २६ गतेसम्म सञ्चालित तीन दिने शिविरमा १ सय ४२ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । जसमा १ सय ३२ जना मोतिया विन्दुको र १० जना आँखामा मासु पलाएका थिए ।
शिविरमा मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशी, आउटरिच कोअडिनेटर कविता कार्की, सन्तोष कुमार लभकर्ण, दुर्गेश पासवान लगायत प्राविधिक टिमले शल्यक्रिया सहित बिरामीहरूको उपचार गरेका थिए ।
मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोग र सरिया परिवारको आयोजना तथा रोटरी, रोट्रयाक्ट र इनरह्वील क्लब अफ भद्रपुरको संयुक्त व्यवस्थापनमा शिविरको आयोजना गरिएको थियो ।
आँखाका बिरामीहरूको सङ्ख्या बढ्दै गइरहे पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका बिरामीहरूलाई लक्षित गर्दै निःशुल्क शिविर आयोजना गरिएको शिविरका संयोजक एवम् रोटरी क्लब अफ भद्रपुरका पूर्व अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।