बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसूति रोग सेवा विस्तार
बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा मङ्सिर ५ गतेदेखि यो सेवा सुरु गरिएको हो । शनिबार बाहेक हरेक दिन दिउँसो १ बजे देखि अपराह्न ४ बजेसम्म सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिए । उनले स्त्री तथा प्रसूति रोग सम्बन्धीका सबै रोगहरू विशेषज्ञ डाक्टर शिवेश चौधरीले जाँच गर्ने बताए।
नगर अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिनसमेत उपलब्ध भएको छ । यो सेवा पनि शनिबार बाहेकका दिनमा उपलब्ध रहने मेसु डा. अधिकारीले जानकारी दिए ।
नगरपालिकाले आवश्यक पूर्वाधार थप गरी क्रमशः सेवा विस्तार गरिरहेको छ । अस्पतालमा २४सै घण्टा निःशुल्क नर्मल डेलिभरी (प्रसूति) सेवा, बालरोग विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, स्वास्थ्य बिमा सेवा लगायत यसअघि देखि नै सञ्चालनमा छ ।
यसैगरी सहुलियत दरमा एक्स-रे, भिडियो एक्स-रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याब, बच्चाहरूको नियमित खोप लगायतका सेवासमेत उपलब्ध छन् । नगर अस्पतालमा दैनिक ३ सय ५० जना भन्दा बढीले सेवा लिइरहेका छन् । अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा सञ्चालनको तयारी पनि भइरहेको छ । नगर अस्पताल सुविधा सम्पन्न हुँदै गएपछि सर्वसाधारणले निजी अस्पतालमा गएर महँगो मूल्यमा चेक जाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्दै गएको छ ।