बिर्तामोड नगर अस्पतालको प्रसूति सेवा प्रभावकारी बन्दै
बिर्तामोड नगरअस्पतालमा निःशुल्क नर्मल डेलिभरी (प्रसूति) सेवा लिनेको सङ्ख्या २४ पुगेको छ । अस्पतालमा असार ३ गते आइतबार देखि २४ सै घण्टा नर्मल डेलिभरी सेवा सुरु भएपछि लाभ लिनेको सङ्ख्या २४ जना पुगेको हो ।
अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसँगै नर्मल डेलिभरी (प्रसूति) सेवालाई समेत अघि बढाएको थियो । नगर अस्पतालमा प्रसूति हुनेहरूको लागि मायाको झोलासमेत प्रदान गरिँदै आएको छ । झोलामा बच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक एक थान उपलब्ध हुन्छ ।
नगर अस्पतालले प्रसूति सेवा लिनेहरूलाई १ हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरूको लागि ८ सय रुपैयाँ थप गरी १८ सय रुपैयाँ नगद पनि प्रदान गर्दै आएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले जानकारी दिनु भयो ।
अस्पतालले स्त्री तथा प्रसूति रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ, एमडीजिपी, मेडिकल अधिकृत, ल्याब टेक्नोलोजिष्ट राखेर सेवा प्रवाह गर्दै आएको छ । अस्पतालमा हाल दैनिक २४ सै घण्टा निःशुल्क नर्मल डेलिभरी, स्वास्थ्य बिमा सेवासँगै सहुलियत दरमा एक्स-रे, भिडियो एक्स-रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याब, बच्चाहरूको नियमित खोप, रेबिज विरुद्धको खोप लगायतका सेवा उपलब्ध गराउँदै आएको छ । हाल दैनिक ३ सय जना भन्दा बढीले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिँदै आएका छन् ।