२०८३ बैशाख १५ गते , मंगलबार

प्रादेशिक आयुर्वेद अस्पतालको सेवा बिस्तारसँगै बिरामीको आकर्षण बढ्दै

sajilo news
झापा
२०८० मंसीर २३ गते , शनिबार
प्रादेशिक आयुर्वेद अस्पतालको सेवा बिस्तारसँगै बिरामीको आकर्षण बढ्दै

दमक । झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि बिरामीहरूको आकर्षण बढ्दै गएको छ । औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आयुर्वेद अस्पतालमा डा. सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा आएपछि सेवा विस्तार भएको हो ।
ठाकुरका अनुसार अहिले अस्पतालमा ओपडि सहितका केही सेवाहरूलाई सुचारु गरेर आएका बिरामीहरूलाई सेवा प्रदान गरिँदै आएको छ । सकेसम्म निःशुल्क रुपमा औषधि समेत उपलब्ध गराइँदै आएको छ ।
५० शय्याको क्षमताको प्रादेशिक आयुर्वेद अस्पतालमा करार सहित १९ जना मात्र स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन् । कम्तीमा पनि ५० जना जनशक्ति हुने हो भने इमरजेन्सी लगायतका सेवा सुचारु गर्न सकिन्छ, डा।ठाकुरले भने ।
एकैचोटी सेवा विस्तार गर्ने भन्दा पनि दिइरहेका सेवालाई प्रभावकारी बनाउने र सेवा थप्दै जाने आफूहरूको योजना रहेको ठाकुरले बताए । यस आयुर्वेद अस्पताललाई प्रदेशकै प्रेषण अस्पताल तथा भरपर्दो अस्पतालको रुपमा विकास तथा विस्तार गर्ने योजनामा रहेका छौ, उनले भने ।
जनशक्ति, बजेट र औषधि अभाव भएपनि सेवालाई प्रभावकारी र विस्तारित रुपमा दिनलाई लागि परेको उनले जनाए । थोरै जनशक्ति भएपनि पञ्चकर्म, भिडियो एक्स रे, ल्याब लगायतको सेवा सुरु गरिएको छ, उनले भने । इमरजेन्सी सेवा विस्तारको लागि पनि आवश्यक काम गरिरहेका छौ, उनी भन्छन् ।
दैनिक ५० जनासम्म बिरामी आउन थालेको र सेवा विस्तार भएपछि बिरामीको सङ्ख्या बढ्ने अपेक्षा रहेको उनको भनाई छ । आयुर्वेद उपचार पद्धतिमा जन विश्वास बढ्दो छ तर त्यस अनुसारको सेवा दिन भने चुनौती छ, उनले भने ।
अस्पतालमा नै औषधि उत्पादन गर्ने र स्थानीयलाई अस्पतालसँग जोड्ने सोच अनुसार काम भइरहेको पनि उनको भनाई छ । सकेसम्म यही औषधि बनाएर बिरामीलाई दिने लक्ष्य रहेको छ, उनले थपे ।
नयाँ सेवा सुरु गरिँदै
यसैबीच शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरेर पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको उपचार सुरु गरिने जनाएको छ । अहिले यसको उपचार गर्ने भन्दै भारतीय चिकित्सक भन्नेहरूले ठगी रहेकाले यसको उपचार सहज रुपमा यहाँ गरिने बताइएको हो ।
सेवा सुरुवातको अवसरमा आउँदो मङ्सिर २५ र २६ गते पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको उपचारका लागि अस्पताल परिसरमा नै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा आउने बिरामीहरूको जाँच उपचार पूर्ण रुपमा निःशुल्क हुने डा।ठाकुरले बताए । ल्याब देखि लिएर औषधिसम्म कुनै पनि खर्च लाग्दैन, उनले भने ।

सम्बन्धित समाचार