अवैध काठसहित ट्याक्टर नियन्त्रणमा, झापा प्रहरीलाई ९५ हजार घुस दिन खोज्ने दुईजना समातिए

झापा । झापा प्रहरीले अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेका प्रहरी नायव निरीक्षक कुमार खड्काको नेतृत्वमा खटिएका टोली शनिबार बिहान साढे ५ बजेको समयमा अर्जुनधारा नगरपालिका- ५ बाँसबारीस्थित भित्री सडक खण्डबाट काठसहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले ट्याक्टरसहित अर्जुनधारा- ३ निवासी ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँका ३८ वर्षीय रोहित घतानीलाई पक्राउ गरेको छ ।
उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्याक्टरलाई गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा माटोले छोपेर काठ ल्याएको फेला पारेको थियो । प्रहरीले चिरान गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान, ८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्युफिट सखुवा जातको काठ फेला परेको थियो । बरामद गरिएका काठको मुल्य २ लाख ७० हजारको प्रहरीको अनुमान छ । उक्त काठ नियन्त्रणमा लिने क्रममा प्रहरीलाई काठ तस्कर समूहले ९५ हजार घुस दिन खोजेको दाबी गरिएको छ । प्रहरीले उक्त नगद, काठ, ट्याक्टरसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापा बुझाउने जनाइएको छ ।