२०८३ बैशाख १५ गते , मंगलबार

जाडोमा पनि डेंगु, २० जनाको मृत्यु

sajilo news
पत्रपत्रिका
२०८० मंसीर २६ गते , मंगलबार
जाडोमा पनि डेंगु, २० जनाको मृत्यु

तराई (मधेस) का जिल्लावासीलाई पिरोल्ने डेंगुले पहाड र हिमालमा पनि सताउन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार, यस वर्ष ७७ जिल्लामै लामखुट्टेको संक्रमण विस्तार भएको छ। यस वर्ष ५१ हजार ९४ जनामा संक्रमण भएको पुष्टि भएको छ। संक्रमितमध्ये २० जनाको ज्यान गएको छ।

मुलुकका १५ वटा जिल्ला मात्रै ५ सयभन्दा बढी व्यक्तिले संक्रमण पछिको पीडा अनुभूति गरेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार, यस वर्ष सबैभन्दा बढी कोशी प्रदेशवासीहरू संक्रमणको पीडा अनुभूति गरेका छन्। मन्त्रालयका प्रवक्ता बुढाथोकी भन्छन्, ‘चिसो मौसममा शून्यमा झर्ने डेंगु यस वर्ष जाडोमा पनि देखा परेको छ। यसले स्वास्थ्य प्रणालीमा चुनौती थप्दै गएको छ।’

यस वर्ष कोशी प्रदेशमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। कुल संक्रमितमध्ये ५० दशमलव ९ प्रतिशत संक्रमित कोशी प्रदेशका छन्। दोस्रो, गण्डकी प्रदेशमा देखिएको छ। यस प्रदेशमा २४ दशमलव ७ प्रतिशत संक्रमित भएका छन्। तेस्रोमा बागमती प्रदेश परेको छ। यस प्रदेशमा १५ प्रतिशत संक्रमित पुष्टि भएका छन्।

चौथोमा सुदूरपश्चिम ४ प्रतिशत र पाँचौंमा लुम्बिनी ३ दशमलव १ प्रतिशत संक्रमित पुष्टि भएको छ। छैटौंमा मधेस प्रदेश रहेको छ। यस प्रदेशमा १ दशमलव ७ प्रतिशत संक्रमित फेला परेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा संक्रमित देखिएका छन्। यस प्रदेशमा कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ। 

यस वर्ष सबैभन्दा बढी संक्रमित सुनसरी जिल्लामा भएका छन्। सुनसरीमा १६ हजार १ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा थोरै हिमाली जिल्ला हुम्लामा संक्रमित फेला परेका छन्। कर्णाली प्रदेशको हुम्लामा यस वर्ष २ जना डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

सम्बन्धित समाचार