२०८३ बैशाख १५ गते , मंगलबार

प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा पायल्स लगायत मलद्वारमा हुने रोगको उपचार सुरु 

sajilo news
झापा
२०८० मंसीर २६ गते , मंगलबार
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा पायल्स लगायत मलद्वारमा हुने रोगको उपचार सुरु 

दमक । झापाको कमल गाउँपालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पायल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार सुरु गरेको छ । सोमबार र मंगलवार बृहत् आयुर्वेद स्वास्थ्य शिविरसहित यो सेवा सुरु गरेको हो ।

कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले सोमबार उद्घाटन गरेको आयुर्वेद स्वास्थ्य शिविरमा ५ सय जना भन्दा बढी बिरामीले निःशुल्क जाँच तथा उपचार पाएको जनाइएको छ । क्षार सूत्र विधिबाट पायल्सका बिरामीको उपचार पनि सुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले बताए ।

शिविरमा आएका बिरामीहरूको निःशुल्क रुपमा सबै प्रकारका जाँच, उपचार र औषधि वितरण गरिएको छ । डा. ठाकुरको नेतृत्वमा डा.रमेश पौड्याल (सर्जन), डा.निर्मल भुसाल (फिजिसियन), डा. मिथिलेश शाह, डा.मिशान्त ढकाल लगायतले जाँच तथा उपचार गरेको कविरा वेदप्रकाश शर्माले बताए ।

अस्पतालको स्तरउन्नती सहित सेवा विस्तारको क्रममा अब नियमित रुपमा पायल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार सुरु गरिएको पनि अस्पतालका निमित्त निर्देशक डा.ठाकुरले जनाए । क्षार सूत्र विधिबाट यस प्रकारको रोगको अब यहाँ सहज र सरल रुपमा उपचार हुन्छ, उनले भने ।

५० बेड क्षमताको आयुर्वेद अस्पतालमा इमरजेन्सी लगायतका सेवा समेत सुरु गर्न लागिएको छ । डा. ठाकुर आउनु अघि अस्तव्यस्त र सेवा विहीन रहेको अस्पतालले ६ महिनामा फड्को मार्दै गएको जनाइएको छ । 

पञ्चकर्म, भिडियो एक्स रे, ल्याब सेवा सुरु गरेपछि बिरामीको चाँप समेत बढेको बताइएको छ । सरकारले तोकेका औषधिहरू बिरामीले निःशुल्क पाउँदै आएका छन् । 'अहिले भने औषधिको केही अभाव खड्किएको छ तर सकेसम्म हामी व्यवस्थापन गर्दैछौ,' ठाकुरले भने ।

सम्बन्धित समाचार