बाल कल्याण माविका शिक्षकलाई सम्मान र विद्यार्थीलाई न्यानो कपडा
गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका-१ कुञ्जीबारीस्थित बाल कल्याण माविका अवकाश प्राप्त एक शिक्षक र विद्यालय कर्मचारीलाई सम्मान गरिएको छ । साथै सोही विद्यालयबाट अन्यत्र सरुवा भएका शिक्षकहरूलाई बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा आयोजित कार्यक्रमकाबीच सो विद्यालयमा लामो समय अध्यापन गराई अवकाश प्राप्त शिक्षक युवराज खतिवडा र अवकाश प्राप्त विद्यालय कर्मचारी भीमप्रसाद खनाललाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको हो ।
गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वरप्रसाद राजवंशीको सभापतित्वमा आयोजित सो कार्यक्रममा विद्यालयमा विभिन्न समयमा दाताहरूबाट स्थापना गरिएका अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिनुका साथै कक्षा १ देखि ३ सम्मका ६५ जना विद्यार्थीहरूलाई ट्र्याक सुट र विद्यालयमा कार्यरत चार जना शिक्षकहरूबाट कक्षा ४ र ५ का ५४ विद्यार्थीलाई न्यानो कपडा समेत वितरण गरिएको थियो ।
विद्यालयमा स्थापना गरिएको विश्वप्रसाद अधिकारी अक्षयकोषबाट एसइई र कक्षा १२ का उत्कृष्ट छात्रछात्रालाई नगद पुरस्कार प्रदान गरिएको हो । त्यसैगरी विष्णुप्रसाद खरेल स्मृति अक्षय कोषबाट विद्यार्थीहरूलाई ट्र्याक सुट प्रदान गरिएको हो भने विद्यालयमा कार्यरत प्रधानाध्यापक भीमप्रसाद कोइराला, शिक्षकहरू हरिप्रसाद राजवंशी, सुशीला पौडेल, सरस्वती राई लगायतको सहयोगमा विपन्न विद्यार्थीहरूलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको थियो । त्यस्तै खगेन्द्र लोहार अक्षय कोषबाट र अच्युत अर्थशास्त्र पुरस्कारबाट पनि उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा सो विद्यालयबाट अन्यत्र सरुवा भएर जाने शिक्षकहरू यशोदा राजवंशी, भुवन श्रेष्ठ, शान्तिमाया राई , श्रुति पछाई, ख्यामराज नेपाल र अरुण रेग्मीलाई बिदाइ गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजवंशी, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष पूजन न्यौपाने, गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्द कुँवर, पूर्व प्रधानाध्यापक भोलाप्रसाद खतिवडा लगायतले मन्तव्य राखेका थिए भने अक्षय कोषका स्थापकहरू शैक्षिक तथा सामाजिक व्यक्तित्वहरू विश्वप्रसाद अधिकारी, कुलराज खरेल, पदम बहादुर लोहार लगायत वडास्थित जनप्रतिनिधि, पूर्व शिक्षक, पूर्व विद्यार्थी प्रतिनिधि एवं अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कोइरालाले विद्यालयका विविध विषयमा जानकारी गराएका थिए भने शिक्षक कुबेरप्रसाद राजवंशीले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक तथा जातीय पहिचान झल्किने पोसाकमा नृत्य तथा गीतहरू प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।