माघ १ देखि स्वास्थ्य बीमामा सह–भुक्तानी प्रणाली लागू हुँदै
स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को-पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ। बोर्डले बिहीवार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी पेमेण्टको व्यवस्था लागू गर्ने बताएको हो। सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित र सरोकारवालाहरुले जवाफदेही र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी (को-पेमेन्ट) लागू गर्न बोर्डले अपिलसमेत गरेको छ। बोर्डले प्रेषण सेवासम्बन्धी व्यवस्था पनि लागू गरेको छ।
दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितलाई हाल १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्थासमेत लागू गरिएको जानकारी बोर्डले दिएको छ।
पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवासम्बन्धी कार्यविधि, २०८० परिमार्जनसहित लागू गर्न लागिएको बताए। उनले दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितहरुलाई १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था गर्न आग्रहसमेत गरे।
उनले यो व्यवस्था राष्ट्रको हितमा भएको दाबीसमेत गरे। स्वास्थ्य बीमा कार्यक्रम प्रेषण सेवासम्बन्धी कार्यविधिको मुख्य उदेश्य स्वास्थ्य प्रणालीको सबलीकरण गर्नु भएको बताए। अध्यक्ष लोहनीले स्टेकहोल्डरहरु बीमा बोर्ड, बीमित र सेवा प्रदायकहरु रहेकाले यसमा निजी, सरकारी सहकारी भन्ने नभएको बताए। उनले स्वास्थ्य बीमा बोर्डले अस्पतालको सेवा खरिद गर्ने र बीमितहरुलाई सेवा दिने भएकाले निजी र सरकारी भन्ने नहुने बताए।
उनले स्वास्थ्य बीमाको लागि काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकामा बाँकी रहेको भन्दै २०८० सालभित्र सो स्थानमा प्रवेश गर्ने बताए। स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाई दिगो व्यवस्थापन गर्ने गरी काम गरिरहेको बोर्डले बताएको हो।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहितासमेत स्वीकृत गरेको छ। आचारसंहितामा कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने, दाबी व्यवस्थापन शाखा र प्रविधि शाखाका कर्मचारीले व्यक्तिगत मोबाइल चलाउन नपाउने व्यवस्था गरेको छ।