२०८३ बैशाख ७ गते , सोमबार

झापामा बाथ रोगीको सङ्ख्या बढ्दै, रोगको पहिचान गर्न नसक्दा बिरामी समस्यामा

sajilo news
झापा
२०८१ जेष्ठ ४ गते , शुक्रबार
झापामा बाथ रोगीको सङ्ख्या बढ्दै, रोगको पहिचान गर्न नसक्दा बिरामी समस्यामा

झापामा बाथ रोगीको लक्षण देखिएका बिरामीहरूको सङ्ख्या अनुमानित ४० प्रतिशत रहेको आङ्कलन गरिएको छ । यो रोगको सिकार गर्भावस्था देखि वृद्धसम्म रहेको पाइएको हो ।

बाथ रोग जोड्नीको दुखाइ मात्र नभएर भित्री अङ्गलाइ असर गरिरहे पनि रोग पहिचान हुन नसक्दा ज्यान समेत जाने गरेको चिकित्सकले जनाएका छन् । झापामा एक मात्र बाथ रोग विशेषज्ञ डाक्टर लवराज लोहनीका अनुसार बिरामीको जनचेतना अभावका कारण रोग निको नभएर जीवनभर दुःख पाइरहेको बताउँछन् ।

जिल्लामा अनुमानित ४० प्रतिशतको हाराहारीमा बिरामी रहेको लोहनीले बताए । अस्पताल आउने बिरामीले बाथ रोगको डाक्टरलाई देखाउने भनेर पहिलो पटक बिरामी पुर्जा नकाटिएको उनले बताए । जोड्नी दुख्ने बित्तिकै बाथ रोग चिकित्सकलाई नदेखाई अन्य विशेषज्ञकोमा जाने गरेको र पछि चेकजाँचबाट  चिकित्सक मार्फत बिरामी सम्पर्कमा आउने गरेको उनको भनाइ छ ।  बाथ रोगले जोर्नी,तन्तुलाई मात्रै हैन दीर्घकालमा फोक्सो मिर्गौलालाई समेत असर गर्ने उनको भनाइ छ ।

मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भन्छौँ तर, यो एक किसिमको रोग प्रतिरोधात्मक क्षमता बढी भएमा त्यसले आफ्नै शरीरको तन्तुलाई नष्ट गर्न थालेपछि बाथ रोग हुने उनी बताउँछन् । बाथ रोग भनेको युरिक एसिड नै भन्ने आम बुझाइ छ जुन गलत भएको उनले बताए । उनका अनुसार बाथ रोग यही कारणले भएको हो भन्ने यकिन तथ्य छैन । कहिलेकाहीँ यो वंशाणुगत कारणले पनि हुनसक्छ । बाथ रोग सयभन्दा बढी प्रकारका हुन्छन् । सबभन्दा बढी देखिने भनेको’रुमटर अर्थाइटिस’ र ’स्पन्डुला अर्थाइटिस’ हो ।

बच्चालाई हुने बाथ,ढाडसम्बन्धी बाथ,’सोराइटिक अर्थाइटिस’ लगायतका बाथहरू हुने उनले बताए । सामान्यतया जोर्नीको दुखाइ , बिहानीपख असर हुने,आराम गर्दाखेरि बढी दुख्ने  हातका जोर्नीहरू सुन्निने, हातका जोर्नीहरू नीलो हुने अनि रातो सेतो खालको हुने,त्यस्तै शरीरको छाला कसिलो भएर आउने,कपाल धेरै झर्ने,मुखमा घाउ हुने,छालामा दाग आउने खालको अवस्थामा बाथ रोग भएको उनी बताउँछन् । बाथको औषधि रोगको प्रकृति अनुसार फरक हुने उनले बताए ।

अर्को आयुर्वेदिक औषधिका नाममा भ्रम पनि छ । आयुर्वेदिक औषधिको आफ्नै विशेषता छ तर जसमा नाम समेत लेखेको हुँदैन त्यस्ता औषधि नियमित प्रयोग गरेर झन् हानी गर्ने गरेको उनले बताए । झापाका यो रोगीहरूको सङ्ख्या धेरै भए पनि प्रतिशतका हिसाबले यति नै हो भन्न नसकिने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । बाथ रोगको लक्षण धेरै प्रकारको हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार