२०८३ बैशाख ७ गते , सोमबार

बीएण्डसी हस्पिटलमा विपन्न उपचार कोषमार्फत हेड तथा स्पाइनल इन्जुरी सेवा सुरु

sajilo news
झापा
२०८१ जेष्ठ ५ गते , शनिबार
बीएण्डसी हस्पिटलमा विपन्न उपचार कोषमार्फत हेड तथा स्पाइनल इन्जुरी सेवा सुरु

झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु भएको छ । 

नेपाल सरकारबाट सञ्चालित उक्त कार्यक्रम बीएण्डसी अस्पतालले शुक्रवार (आज) देखि सुचारु गरेको जानकारी दिएको हो । अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीसहित चिकित्सकहरूले विपन्न नागरिक औषधि कोष अन्तरगतका सेवाका बारेमा पत्रकारहरूलाई जानकारी दिएका छन् । 

उक्त कार्यक्रम अन्तरगत नेपाली नागरिकले मात्र सेवा पाउने व्यवस्था रहेको छ । सेवा पाउनका लागि डाक्टरले बिरामीको सूचीकृत गरेर रोग बारेको प्रमाणपत्र जारी गरेपछि आफ्नो स्थानीय तहको स्वास्थ्य शाखा अन्तरगतको प्रमुख प्रकाशकीय अधिकृत, स्थानीय तह प्रमुख, स्वास्थ्य शाखा प्रमुखको एक समिति हुने र सो समितिको सिफारिस आवश्यक पर्नेछ । स्थानीय तहको समितिले सिफारिस गरेर अस्पताललाई पठाएपछि त्यसको आधारमा अस्पतालले सेवा दिने अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार दुर्घटना सम्बन्धी भने उपचार भइसकेको हुने र पछि डकुमेन्ट ल्याउन सकिने पनि व्यवस्था छ ।  

कोही पनि विपन्न नागरिक उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गरिएको हो । बीएण्डसीमा एक लाख रुपैयाँसम्मको हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । उक्त कार्यक्रम अन्तरगत एक लाख रुपैयाँसम्मको सेवा अस्पतालबाट लिन पाइनेछ । 

विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत एक लाख भन्दा कम उपचार खर्च भए त्यो रहने र बढी भए त्यसलाई बिरामीले बेहोर्नु पर्ने गिरीले बताएका छन् । 

सम्बन्धित समाचार