प्रेस युनियनको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत
३३ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन झापाले दुईजना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । नेपाल प्रेस युनियन झापाले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा कार्यक्रममा टंकप्रसाद रमादेवी पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी लुइँटेल र रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट सञ्जु शिवाकोटीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेले सम्मान पत्र दोसल्ला र नगद ११ हजार राशिसहित दुवैलाई पुरस्कृत गरेका हुन् । उक्त पुरस्कार टंकप्रसाद र रमादेवी पाठकका छोराबुहारी यज्ञप्रसाद–शकुन्तला पाठक र कृष्णकुमार–टिकादेवी सङ्ग्रौलाले दुई वर्षअघि स्थापना गरिदिएका हुन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भुजित दाहाल, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईँ, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, सञ्चारिका समूह झापाका अध्यक्ष लीला अनमोललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका अधिकांश वक्ताहरूले नेपाल पत्रकार महासंघको नजिकिएको निर्वाचनमा नेतृत्व चयन गर्दा सहमति, सहकार्य र एकताको नीतिलाई अङ्गीकार गरेर सहमतिमै नेतृत्व चयनका लागि भूमिका खेल्न प्रेस युनियनलाई आग्रह गरेका थिए ।
प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष इन्दु पूर्वेलीले स्वागत गरेकी थिइन् भने सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए ।