२०८१ भाद्र २४ गते , सोमबार

कचनकवलका विद्यालयमा सशस्त्र प्रहरी, विद्यार्थीलाई लागूऔषध कुलतबाट जोगाउन सचेत गराउँदै

sajilo news
झापा
२०८१ श्रावण २३ गते , बुधबार
कचनकवलका विद्यालयमा सशस्त्र प्रहरी, विद्यार्थीलाई लागूऔषध कुलतबाट जोगाउन सचेत गराउँदै

कचनकवल । झापाको कचनकवलमा पछिल्लो समय लागू औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन सशस्त्र प्रहरीले विद्यालयमै पुगेर सचेत गराउन थालेको छ ।

खुला सिमानाका कारण कचनकवलका विभिन्न क्षेत्रहरू लागुऔषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको जनाउँदै सशस्त्र प्रहरी बल नेपाल बिओपी केचनाले लागूऔषध दुर्व्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ ।सशस्त्र प्रहरी बल नेपाल बिओपी केचनाका प्रहरी निरीक्षक केशव मैनालीले विद्यार्थी र युवालाई लागुऔषधको दुर्व्यसनका बारेमा सचेत गर्न अति आवश्यक ठानेर यो जनचेतनामूलक अभियान चलाइएको बताए। उनले यो अभियान अन्तर्गत जोखिम क्षेत्रका विद्यालयमा प्रहरी पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागूऔषधबाट हुने हानी र त्यसका असरबारे जानकारी गराएर सचेत पार्ने कार्य शुरु गरिएको बताए।

‘लागूऔषध दुर्व्यसन रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत कचनकवल ४ केचनामा महेन्द्र रत्न माध्यमिक विद्यालयमा सचेतनामूलक प्रशिक्षण गरिएको छ। निरीक्षक मैनालीले कार्यक्रममार्फत कक्षा ८, ९ र १० मा अध्ययनरत छात्रछात्रा र शिक्षकहरूलाई लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । उनले विद्यार्थी र युवाले लागू औषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेको बारेमा केही जानकारी हुने बित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरे।

करिब १५० जना विद्यार्थी र शिक्षकको सहभागिता रहेको सो कार्यक्रममा सहभागी अधिकांश छात्रछात्राले लागूऔषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरूलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएका छन्। सिमाक्षेत्रमा लागूऔषध ओसारपसार र सेवन गर्ने मानिसहरूलाई सशस्त्र प्रहरीद्वारा विशेष निगरानीमा राखेपनि प्रयोगकर्ता तथा ओसारपसारकर्ताले खुला सिमानाको फाइदा लिँदै सीमापारिबाट विभिन्न प्रकारका लागूऔषध खरिद गरेर नेपाल ल्याउने कार्य दिनदिनै हुँदै आएको छ।

सम्बन्धित समाचार