श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ
मोरङमा श्रीमानले श्रीमतीको बीभत्स हत्या गरेका छन्। सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन्।
लक्ष्मणले आइतबार बिहान ११ बजेतिर खुकुरीले श्रीमतीको शरीरका विभिन्न भागमा अन्धाधुन्ध प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। उपचारका क्रममा १२ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी बस्नेतले दिए। खुकुरी प्रहारबाट पवित्राको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो।
अंश विवादका कारण पवित्राको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीमान–श्रीमतीबीच अदालतमा यसअघि मुद्दासमेत चलेको थियो। पछि दुवै जना मिलेर बस्नेगरी मुद्दामा मिलापत्र भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पवित्राको माइती मोरङको लेटाङ हो।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प