२०८३ जेष्ठ २४ गते , आईतबार

१६ लाख बढी ठगी गर्ने दुई जना पक्राउ

sajilo news
रासस
२०८१ भाद्र १ गते , शनिबार
१६ लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १६ लाख बढी ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुर्खेत चिङगाड गाउँपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने ३२ वर्षीय सुरेश राना तथा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ बस्ने ३३ वर्षीय राजेश विष्ट रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजिकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा इटाली, रोमानिया, दुबईलगायत देशमा पठाइदिने भन्दै पीडितहरुबाट रु १६ लाख बढी रकम लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।”

सुरेशले आठजना पीडितबाट रु १५ लाख ९३ हजार पाँच सय र राजेशले एकजना पीडितबाट रु एक लाख ८० हजार ठगी गरेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताए । सुरेशलाई ललितपुरबाट र राजेशलाई काठमाडौँ गौशालाबाट पक्राउ गरिएको हो । 

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार