२०८१ आश्विन २८ गते , सोमबार

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

sajilo news
मोरङ
२०८१ आश्विन २ गते , बुधबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। उनको पक्षमा दुईतिहाइ मत परेको छ । मत विभाजनको प्रक्रियामार्फत मतदान हुँदा कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको हो। 

नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएनन्। नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मत दिएनन् । प्रदेशसभा बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए। 

यसअघि कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए। नेकपा (माओवादी केन्द्र)ले भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः कार्कीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। 

कोशीमा ९३ जना प्रदेशसभा सदस्य छन्। नेकपा (एमाले)का ४० (उपसभामुखसहित), नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६ (सभामुखसहित), एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभा सदस्य छन्। कोशी प्रदेशसभा अहिले एमाले र कांग्रेसको सरकार छ । केन्द्रमा पनि एमाले र कांग्रेसबीच गठबन्धन सरकार छ।

सम्बन्धित समाचार