बिर्तामोड अस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण
बिर्तामोड । टेरी मिकेस्का फाउन्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ ।नगर अस्पतालमा आयोजित एक कार्यक्रमका विच फाउन्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईँलाई मेशिन हस्तान्तरण गरेका छन् ।
डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउन्डेसनका अनुसार उक्त मेशिन ६ हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउन्डेसनलाई धन्यवाद दिइन । उनले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगर अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने कार्यमा आफू लागेको बताए । नगर प्रमुख प्रसाईँ र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले सम्मान स्वरूप उनलाई प्रशंसा पत्र प्रदान गरे ।
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. आयन अधिकारी, टेरी मिकेस्का फाउन्डेसनका प्रमुख टेरी मिकेस्का, अस्पताल व्यवस्थापन समिति सदस्य अर्जुन पाठकले धारणा राखेका थिए । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्य यमुना आचार्य, टेरी मिकेस्का फाउन्डेसन र नगर अस्पतालको समन्वय गराउने बिर्तामोड ३ का दुर्गा काफ्ले, राजन काफ्लेलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।