२०८१ आश्विन २८ गते , सोमबार

मच्चियो भद्रपुर नगरमा हंगामा

sajilo news
दीपक अधिकारी
२०८१ आश्विन ८ गते , मंगलबार
मच्चियो भद्रपुर नगरमा हंगामा

भद्रपुर । पछिल्लो समय भद्रपुर नगरमा हंगामा मच्चिएको छ । भद्रपुर नगरकै इतिहास बिगार्ने तथा वर्तमान जनप्रतिनिधिको नाम तथा पद नै बिगारेर भद्रपुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले ‘स्थानीय पाठ्यक्रम विद्यालयहरूमा पढाउन सुरु गरेपछि  पालिकाका जनप्रतिनिधिहरूमा हंगामा मच्चिएको हो ।

नगरको शिक्षा युवा तथा खेलकुद शाखाले  जनप्रतिनिधिहरूलाई सुइँको समेत नदिई ‘स्थानीय पाठ्यक्रम (भद्रपुर सेरोफेरो) सन्दर्भ पुस्तिका’ प्रकाशन गरेको छ । नगर उपप्रमुख सहित अधिकांश वडा अध्यक्षलाई पुस्तक प्रकाशित भएको समेत जानकारी छैन ।  अहिलेसम्म पुस्तक हेर्न नपाएको बताउँदै उपप्रमुख राधा कार्कीले भनिन्–‘ पुस्तक छाप्ने भनेको हो तर, अहिलेसम्म आफूले पुस्तक हेर्न पाएको छैन, पुस्तकमा गल्ती भएको सुनेकोले गल्ती सच्याएर मात्र विद्यालयमा पुस्तक दिन शैक्षिक सत्र सुरु भएकै समयमा भनेको हो । अहिलेसम्म टेरेका रहेनछन् ।’

विद्यार्थीलाई गलत शिक्षा दिन नहुने बताउँदै उपप्रमुख कार्कीले भनिन्-‘ शिक्षा शाखा के हेरेर बस्छ भन्या, नगरको इतिहास र जनप्रतिनिधिको नाम, पद नै गलत प्रकाशित भएको पुस्तक किन चलाई रहेको छ ? म यो विषयमा कडा रुपमा अगाडी बढ्छु ।’

केही वडा अध्यक्षलाई पुस्तक प्रकाशित भएको जानकारी भएपनि पुस्तक हेर्न नपाएको बताएका छन् । १ नं. वडा अध्यक्ष रामप्रसाद अधिकारी, २ नं. वडा अध्यक्ष राम बहादुर कँडेल, ४ नं. वडा अध्यक्ष हंशधर राजवंशी, ७ नं. वडा अध्यक्ष अभिषेक ढुङ्गाना, ९ नं. वडा अध्यक्ष रामप्रसाद दाहालले पुस्तक प्रकाशन भएको सुनेको तर, पुस्तक हेर्न नपाएको  बताएका छन् ।

३ नं. वडा अध्यक्ष हेम बहादुर कार्की, ५ नं. वडा अध्यक्ष बन्धु कार्की, ६ नं. वडा अध्यक्ष रतिया राजवंशी, ८ नं. वडा अध्यक्ष गौरव सुब्बा (मनोज), १० नं. वडा अध्यक्ष टेक बहादुर खड्का( काजी)ले त पुस्तक प्रकाशित भएकै थाहा नपाएको बताएका छन् । नगरको शिक्षा जस्तो संवेदनशील विषयमा पुस्तक प्रकाशित हुँदा ६ महिनासम्म वडाका सरकारलाई पत्तो हुँदैन वा पत्तो दिइँदैन ? विषय गम्भीर भएको छ । 

नगरमा हंगामा हुनुको मुख्य कारण भने पुस्तकमा प्रकाशित सामग्री नै हो । स्थानीय पाठ्यक्रममा आधारित स्रोत सामग्री लेखनका विज्ञहरू भनेर ७ जना शिक्षकहरूको  कार्यदलले तयार गरेको सन्दर्भ पुस्तिकामा भाषागत शुद्धता छाडेर सयौँ ठाउँमा नगरकै इतिहास बिगार्ने तथा वर्तमान जनप्रतिनिधिको नाम तथा पद नै बिगारिएको छ । जसका कारण विद्यार्थीमा भ्रम सृजना भएको छ । 

पुस्तकको २ नं. पेजमा वर्तमान वडा सदस्यहरूको नाम र पदमा ५ नं. वडाका वडा सदस्य जेष्ठमल ठाकुरलाई दलित महिला सदस्य बनाइएको छ । स्थापना कालदेखि अहिलेसम्मका नगर प्रमुखको नाममा स्वयम्भूलाल श्रेष्ठको नाममा शम्भुलाल श्रेष्ठ बनाइएको छ । २०५४ सालको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित तथा २०६२ सालमा निर्वाचित भारतेन्दु कुमार मल्लिकको नाम नगर प्रमुखबाट हटाइएको छ । 

त्यसैगरी नगर उपप्रमुखमा २०६२ सालमा निर्वाचित भएको मानबहादुर धमला (गोपाल) को नाम नै हटाइएको छ । २०७९ सालमा निर्वाचित नगर उपप्रमुख राधा कार्कीलाई २०७५ सालसम्मको उपप्रमुख बनाइएको छ । 

पुनः १० नं. पेजमा स्थापना कालदेखि हालसम्मका नगर प्रमुखमा पदम बा गिटी, एक मोहनलाल अग्रवाल, ऋणकेश आणण्या, एंभुलाल क, पुष्राम पोखरेल अनि गणेश पोखरेल नगरप्रमुख २०७९ सालसम्म लेखिएको छ । 

स्थापनाकाल देखि हालसम्मका नगर उपप्रमुखहरूमा जीवन कुमार श्रेष्ठलाई २०५४–२०५९ सम्म उपप्रधानपञ्च, चन्द्रमाया श्रेष्ठलाई २०७४–२०७९सम्म उपप्रधानपञ्च र राधा कार्कीलाई २०७९ सम्म उपप्रधानपञ्च लेखिएको छ । 

त्यसैगरी विक्रम संवत् २००० मा जन्मेका ओमप्रकाश सरावगीले २०३१ सालमा भद्रपुरको पद्योदय काईकस्कूलामा कक्षा १० मा पढेको र २०२१  र २०२७ सालमा वडा अध्यक्ष तथा २०२९ सालमा निर्विरोध प्रधानपञ्चमा निर्वाचित भएको लेखिएको छ । उल्लेखित विवरण त उदाहरण मात्र हो । 

पुस्तक लेखन कार्यदलमा डिल्लीराम पोखरेल, पुरुषोत्तम खरेल, होमनाथ गुरुङ, दीपक दाहाल, श्रीप्रसाद ढुङ्गेल, कोपिला दाहाल र सुरज सापकोटा रहेका थिए । विज्ञ भनिएको टोलीका डिल्लीराम पोखरेलले–‘हाम्रो नगर’, पुरुषोत्तम खरेलले–‘ हाम्रो धर्म, मौलिक कला र सीप’, होमनाथ गुरुङले–‘हाम्रो सम्पदा’को विषयमा लेखेको बताइएको छ ।

त्यसैगरी दीपक दाहालले–‘आर्थिक क्रियाकलाप’, श्रीप्रसाद ढुङ्गेलले–‘ख्याति प्राप्त व्यक्ति तथा संघ–संस्था’, कोपिला दाहालले–‘स्वास्थ्य आचरण र सकारात्मक सोच’ र सुरज सापकोटाले–‘जोखिम र सुरक्षा’ का विषयमा लेखेको पुस्तकमा उल्लेख गरिएको छ ।

शिक्षा शाखा प्रमुख राजकुमार ओडारी हुँदा प्रकाशित सो पुस्तक प्रकाशित गर्दाको खर्च समेत नपाबाट फर्स्यौट भएको छैन । 

नगरको शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा सहायक  योगेन्द्र पौडेलले अनुसार  ‘स्थानीय पाठ्यक्रम (भद्रपुर सेरोफेरो) सन्दर्भ पुस्तिका’ शिक्षकको सहयोगी पुस्तक मात्र भएको बताएका छन्  । पाठ्यपुस्तक लेख्ने काम भइरहेको र असोज मसान्तमा लेखेर सकिने पौडेलले बताएका छन् । पाठ्यपुस्तकको पाण्डुलिपि तयार गर्न होम गुरुङ, गिरीधर कट्टेल शर्मा, बद्री तिम्सिना, सृजना प्रसाईँ, दिपा पोखरेल रहेको कार्यदल बनाइएको र सोही कार्यदलले कक्षा १ देखि ५ कक्षासम्मको पुस्तक तयार गरिरहेको बताइएको छ । 

असोज मसान्तसम्ममा पुस्तकको पाण्डुलिपि तयार भएपछि भद्रपुरको इतिहास बुझेका, कलम चलाउने सञ्चारकर्मी एवम् प्राध्यापकमध्येका व्यक्तिहरूको एउटा कार्यदल बनाई पुस्तकको सम्पादन गरी २०८१ माघसम्ममा पुस्तक नै प्रकाशित गरिसक्ने र २०८२ वैशाखबाट सबै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने योजना रहेको शिक्षा सहायक पौडेलले बताएका छन् । 

‘स्थानीय पाठ्यक्रम (भद्रपुर सेरोफेरो) सन्दर्भ पुस्तिका’ कमीकमजोरी भएको स्विकार्दै पौडेलले भने–‘शिक्षा शाखा प्रमुख राजकुमार ओडारीको नेतृत्वमा रहेको कार्यदलले प्रकाशित गरेको पुस्तकमा धेरै ठाउँमा कमीकमजोरी भएको छ । त्यसलाई अब सुधार गरेर अगाडी बढ्नुपर्छ । बनेको कार्यदल र अब बन्ने विज्ञहरूको कार्यदलले अहिले देखिएका कमीकमजोरीको निराकरण गर्नेछ ।’

अन्त्यमा, जसले जे भने पनि भद्रपुर नगरपालिका क्षेत्रका ७ हजार बढी विद्यार्थी माथि भने अन्याय गरिएको छ । पुस्तक बिना परीक्षा दिन बाध्य पारिएको छ । बालमैत्री नगरमा बालबालिकाको पुस्तक पढेर परीक्षा दिनु पाउनु पर्ने अधिकार पनि खोसिएको छ । शिक्षकले पढाएको भरमा परीक्षा दिनु पर्ने भएको छ । पुस्तकमै भएको जानकारी शिक्षकले पढाए भने पनि विद्यार्थी अनुत्तीर्ण  हुने भए किनभने पुस्तकमा अधिकांश गलत लेखिएको छ ।

पुस्तक बिना विद्यार्थीलाई परीक्षा, विद्यार्थी अन्योलमा 

भद्रपुर नगरपालिका क्षेत्रका ७ हजार बढी विद्यार्थीलाई पुस्तक बिना परीक्षा दिन बाध्य पारिएको छ । पाठ्यपुस्तक २०८२ वैशाखदेखि लागु गर्ने तयारीमा लागेको भद्रपुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले  नगर क्षेत्रका कक्षा १ देखि ८ कक्षासम्मका ७ हजार बढी विद्यार्थीलाई चालु शैक्षिक सत्रदेखि नै पुस्तक बिना परीक्षा दिन बाध्य पारेको हो । नगरको शिक्षा युवा तथा खेलकुद शाखाले ‘स्थानीय पाठ्यक्रम (भद्रपुर सेरोफेरो) सन्दर्भ पुस्तिका’ प्रकाशन गरेर विषयगत शिक्षकलाई मात्र उपलब्ध गराएको छ । विषयगत शिक्षकले त्यति पुस्तक पढेर विद्यार्थीलाई सिकाउने र सोही आधारमा विद्यार्थीले परीक्षा दिनु पर्ने हुन्छ । 

नगरको शिक्षा युवा तथा खेलकुद शाखाले प्रकाशन गरेको पुस्तकमा सयौँ ठाउँमा गल्ती भेटिएको छ । पुस्तकमा भद्रपुरको इतिहास नै बिगार्ने गरी नाम, पदमा  फरक पारिएको छ । वर्तमान जनप्रतिनिधिहरूको समेत नाम, पद नै बिगारिएको छ । जसका कारण भद्रपुर नगर क्षेत्रका कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरू अन्योलमा परेका छन् । 

नगरका विद्यार्थीको भविष्यप्रति जनप्रतिनिधिहरू  गम्भीर देखिएका छैनन् । नगरका सामुदायिक तथा संस्थागत विद्यालयमा आफ्नै नगरपालिकाको शिक्षा शाखाले प्रकाशनमा ल्याएको पुस्तक पढाई हुन थालेको ६ महिना हुँदा समेत अधिकांश वडा अध्यक्षलाई समेत जानकारी छैन । वडा अध्यक्षहरूलाई जानकारी नगराइएको हो वा वडा अध्यक्षहरूले चासो नदिएको हो । त्यो खोजिएको विषय रहला । तर,पाठ्यपुस्तक बिनाको परीक्षा त्यसमा पनि गलत शिक्षाको परीक्षामा कति विद्यार्थी उत्तीर्ण हुने हो, त्यो भने हेर्न बाँकी छ ।

 

 

 

सम्बन्धित समाचार