२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोड चिल्ड्रेन हस्पिटलमा २ हजार १७७ बालबालिकाको सफल उपचार

sajilo news
झापा
२०८१ आश्विन १० गते , विहीबार
बिर्तामोड चिल्ड्रेन हस्पिटलमा २ हजार १७७ बालबालिकाको सफल उपचार

बिर्तामोड । बालबालिकाको लागि सञ्चालित झापास्थित बिर्तामोड चिल्ड्रेन हस्पिटलले एक वर्षको अवधिमा २ हजार १७७ बालबालिकाको सफल उपचार गरेको छ । बालबालिका सम्बन्धी सबै रोगको उपचार गर्ने उद्देश्यले सञ्चालनमा आएको बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा प्रवेश गरेसँगै बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी गराएको हो । 

हस्पिटलले एक वर्षको अवधिमा दुई हजार सात सय ५१ जनालाई ओपिडी सेवा प्रदान गर्नुका साथै इमरजेन्सी सेवा एक हजार ७४ तथा दुई हजार एक सय ७८ जनाले अस्पतालमा भर्ना भएर सेवा लिएको अस्पतालका एमडी तथा बालरोग विशेषज्ञ डा. रूपक आचार्यले जानकारी दिए । अत्याधुनिक जापनिज प्रविधिका उपकरणसहित इको र इसिजीको समेत व्यवस्थासहित चौबीसै घण्टा सेवा प्रवाह गरिरहेका छौँ भने छ जना विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ स्टाफसहितको अस्पताल सञ्चालनमा रहेको अस्पतालले नवजात शिशु तथा बालबालिकाको उपचार गर्दै आएको जनाइएको छ । अस्पतालमा भर्ना भएका बिरामी मध्ये ३ प्रतिशत बिरामीलाई मात्रै आइसियुमा राख्नु परेको छ भने ९७ प्रतिशत बिरामीलाई वार्डमा राखेर उपचार सेवा प्रवाह गरेको एमडी आचार्यले बताए ।

बालबालिकामा देखा पर्ने रोगहरू मेनेन्जाईटिस्, मुटुको बिरामी, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मिर्गौला रोग लगायतका जटिल रोगहरूको समेत सफल उपचार गर्नुका साथै अटिजम रोग समेत पत्ता लगाउनुका साथै बालबालिकाको विकास अर्थात् मानसिक र शारीरिक विकास पत्ता लगाएर सोही अनुसारको उपचार पद्धति समेत अपनाएर सेवा दिई रहेको अस्पतालकी सिईओ डा. सुजता मैनाली आचार्यले बताए ।  अस्पतालमा दक्ष टिम, मोर्डन फेसिलिटी,बालबालिकाका लागि फ्रेन्डली इन्भाइरोमेन्ट,वातानुकूलित केबिन, नर्सरी वार्ड ,चौबीसै घण्टा इमर्जेन्सी , चौबीसै घण्टा फार्मेसी, अत्याधुनिक ल्याबलगायतका सेवा उपलब्ध रहेको र  एनआइसियु , पिआइसियु,अटिजम स्क्रिनिङजस्ता सेवाहरू समेत रहेको अस्पतालकी अध्यक्ष लीला मैनालीले जानकारी दिइन् । उनले उपचारलाई थप व्यवस्थित गर्दै लैजाने बताइन् ।

तीन वर्षअघि १५ शय्याको  चिल्ड्रेन  अस्पताल  सुरु गरेको र सेवा विस्तार गर्दै लैजाने योजनामा रहेको जनाइएको छ । एक वर्षको अवधिमा २४ लाख २४ हजार ३०९ रुपैंया छुट दिएको जनाइएको छ । एक वर्षको अवधिमा विभिन्न गाउँपालिका–नगरपालिकाका साथै विभिन्न संघ–संस्थासँग समन्वय गरेर नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यका विषयमा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा अध्यक्ष लीला मैनाली, एमडी डा. रूपक आचार्य, सिईओ डा. सुजता मैनाली आचार्य, सुपरभाइजर राजेन्द्र मैनाली, फाउन्डर दीपकप्रसाद आचार्य र प्रेमा आचार्य रहेको जनाइएको छ । हस्पिटलकी अध्यक्ष लीला मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नमुना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सिईओ डा. सुजता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् । 

सम्बन्धित समाचार