भाउजूको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ
चितवन । भाउजू हत्या गरेको अभियोगमा ज्वाइँ (नन्दको श्रीमान्)लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ वर्षीय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो ।
रानाभाटले भाउजूको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार असोज १९ गतेदेखि घरबाट हराइरहेकी विष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो ।
घटना शङ्कास्पद भएपछि अनुसन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए । टीकारामलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको थियो ।
प्रहरीले घटनामा प्रयोग भएको खुर्पा एक थान, मृतकको सुनको गहना ठुलो रिङ दुई थान, सानो रिङ पाँच थान, हत्याको समयमा प्रयोग गरिएका कपडाहरू बरामद गरेको छ । रिजालका अनुसार टीकारामलाई चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसन्धान सुरु गरिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प