२०८१ मंसीर २१ गते , शुक्रबार

उदाँउदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

sajilo news
झापा
२०८१ कार्तिक २३ गते , शुक्रबार
उदाँउदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

शुक्रबार बिहान उदाउँदो सूर्य भगवान र छठी मातालाई अर्घ दिएसँगै यसपालिको छठ पर्व विधिवत् समापन भएको छ। कार्तिक शुक्लपक्षको सप्तमी तिथिका दिन आज बिहान देशभरका छठ घाटको जलाशयमा ब्रतालुहरुले उदाउँदो सूर्य भगवान र छठी मातालाई अर्घ दिएसँगै छठ पर्व विधिवत् रुपमा समापन भएको हो।

श्रद्धा, भक्ति र लोकआस्थाको चाड छठ पर्ब मंगलबारदेखि विधिवत् शुरु भएको थियो। सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् चाड छठ पर्ब कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइन्छ।

 छठ पर्वको पहिलो दिनलाई नहाए खाएको दिन पनि भन्ने गरिन्छ। छठ पर्वको पहिलो दिन छठका व्रतालुहरुले खोला, नाला, नदी, पोखरी , तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो शाकाहारी भोजन ग्रहण गरेका थिए।

छठको दोश्रो दिन ‘खरना’गरि ब्रतालुहरुले ३६ घण्टे निर्जल ब्रत शुरु गरेका थिए। छठको तेस्रो दिन अर्थात षष्ठी तिथिमा बिहीबार छठको मुख्य दिन ब्रतालुहरुले नदि, पोखरी , तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सूर्य भगवान र छठीमातालाई अर्घ दिएका थिए।

शुक्रबार सप्तमी तिथीका दिन बिहान सूर्य उदाउनुभन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफूल लिएर छठघाटको जलशायमा पसेर उदाउँदै गरेका सूर्य र छठीमातालाई अर्घ दिएका थिए।

सम्बन्धित समाचार